पोखरा– पोखरा–१७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशालाको स्थापना गरिएको छ ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले सो स्थानमा रहेको प्रयोगशालाको मंगलबार शुभारम्भ गरेका छन् ।
मन्त्री गुरुङ्गले पोखरा बृद्धाश्रमका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । असहाय, बेवारिसे र अशक्त ज्येष्ठ नागरिकहरुको हेरचाह, पालनपोषण र उपचार गर्ने सरकारको दायित्व हुँदाहुँदै पनि पोखरा बृद्धाश्रम जस्ता स्वंयमसेवी संस्थाले यस्ता कार्य गरेकोमा मन्त्री गुरुङले प्रशंसा गरे ।
यसै बीचमा आश्रमका लागि आवश्यक सरसफाइका सामग्री आफूले उपलब्ध गराउने बचन मन्त्री गुरुङले दिएका छन् । संघीय सरकारको अनुदान रकम प्राप्त भएसँगै आश्रमले ल्याबका स्वास्थ्य सामग्री खरिद गरेको जानकारी आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले दिए ।
गत आर्थिक वर्षमा सामाजिक बिकास मनलयले ज्येष्ठ नागरिकहरुलाई लाग्ने अल्जाईमर रोग स्क्रिनिङ्ग टेष्ट कार्यक्रम संचालन गर्न सात लाख रुपैयाँ बजेट बिनियोजन गरेको र उक्त कार्यक्रम सामाजिक बिकास कार्यालय मार्फत संचालन भएको जानकारी पनि अध्यक्ष पराजुलीले दिए ।
आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकहरुलाई पोखरा बृद्धाश्रममा ल्याएमा निशुल्क परीक्षण गरिने जानकारी आश्रमका सचिव धर्मबहादुर तमुले दिए ।













