कश्मीरका दुई वटा पक्षहरू छन्, र यी दुवै पक्षका राष्ट्रहरुसंग नेपालले लामो समय देखि दपक्षिय सम्बन्ध कायम गरेको छ । काठमाडौँमा भारत र पाकिस्तान दुवै देशका दूतावासहरू छन्, दुवै देशहरूको कश्मीर सँग सम्बन्ध राख्ने कदमहरू काठमाडौँमा प्रत्यक्ष वा अप्रत्यक्ष त देखिन्छ नै । काठमाण्डौंमा कश्मीर को चर्चा यदाकदा हुन्छ किनभने कश्मीरले विश्व सुरक्षाका साथसाथै दक्षिण एसियाली क्षेत्रीय सुरक्षा र विकास साझेदारी दुबैलाई प्रत्यक्ष असर पारेको छ ।
कश्मीर सात दशकदेखि रणनीतिक फ्ल्यासपोइन्ट भएको छ, यस क्षेत्रलाई लिएर कम्तीमा तीन पटक भारत र पाकिस्तानबिच युद्ध भएको छ, जबकि भारतले सन् १९६२ मा अस्काई चिनलाई लिएर चीनसँग छोटो समयको लागि युद्ध गरेको थियो। कश्मीर भारतीय र पाकिस्तानीहरूका लागि अस्थिर र भावनात्मक मुद्दा हो। र सम्पूर्ण दक्षिण एसियाली क्षेत्रलाई बन्धक बनाएको छ। सार्क क्षेत्रीय सङ्गठन देखि बिमस्टेकको विकास सम्भावनासम्म लाई कश्मीरले प्रभाव पारेको छ । अनि भारत र पाकिस्तानका लागि त कश्मीर एउटा भूराजनीति र साइकोलोजीकल मुद्धा नै भई सकेको छ ।
आर्टिकल ३७० पछि भारत प्रशासित कश्मीर मा अहिलेसम्म कै सर्वाधिक सुरक्षा र विकासका लहरहरू देखिएका छन्, पर्यटन बढ्दो छ र पूर्वाधारहरूमा रकम खन्याइन थालेको छ । यद्यपि कश्मीरलाई भावनासँग जोडेर आआफ्नो भूमि हे भन्ने दोहोरी अनि कश्मीर उन्मुख डिप्लोमेसी र प्रोक्सी क्रियाकलापहरू जारी नै छ ।
यस हप्ता नेपालमा रहेको पाकिस्तानी दूतावासले कश्मीर एकता दिवस मनाएको खबरले भारतीय र नेपाली दुबैपक्षको ध्यान खिचेको छ । तर नेपाली मूलधारका नेतृत्व र मूलधारका मिडियाहरूका लागि यस कुराले कुनै स्थान पाएन । के नेपालीहरूलाई कश्मीर को वास्ता नहुन स्वभाविक हो ?
आखिर किन कश्मीर को मुद्दालाई नेपाली हरुले संवेदनशील रूपमा हेर्न जरुरी छ त ?
नेपालीहरूले कश्मीरलाई गम्भीरताका साथ लिनुपर्ने कारणहरू धेरै छन् । पहिलो, पर्यटन उद्योगमा यो समय कश्मीर र लद्दाखमा धेरै नेपाली काम गरिरहेका छन् र यो क्रम बढ्दो छ । भारतीय सेनामा पनि दसौँ हजार नेपाली नागरिकहरू छन् जसले नियन्त्रण रेखा पार पाकिस्तानसँग र लद्दाखमा चिनियाँ सेनासँग लड्नुपर्ने हुन सक्छ । इतिहास साक्षी छ कि यसअघि भारत र पाकिस्तान र भारत र चीनबिचको युद्धमा धेरै नेपालीले भारतीय पक्षका लागि आफ्नो रगत बगाएका छन् । युद्धमा फ्रन्टलाइनमा राखिएका गोर्खा रेजिमेन्ट र यता कुटनैतिकरुपमा क्षेत्रीय विकासका पूर्वाधारहरूमा अघि बढ्न नसकेका परियोजना र क्षेत्रीय सङ्गठनहरूको बढ्दो फेलुयरहरुका कारण भूपरिवेष्टित नेपालको धेरै सम्भावनाहरू तुहिएर गइरहेको अवस्था छ ।
काठमाडौँमा दुई वटा कश्मीर छन्, एउटा भारतीय दूतावास भित्रको कश्मीर अर्को पाक दूतावास भित्रको कश्मीर । दुवै कश्मीरलाई सन्तुलनमा ल्याउन काठमाडौँको कसरत पटक्कै पुगेको छैन । पाकिस्तानी पक्षले खुलेआम कश्मीर दिवस मनाउँदा मौन नेपाली प्रशासन यसको एउटा उदाहरण हो । अनेक रिपोर्ट र अध्ययनहरूले कश्मीर को अस्थिरता र त्यहाँ हुने आतङ्कवादी हमलाहरूमा पाकिस्तानको प्रत्यक्ष संलग्नता प्रमाणित गरिसकेको अवस्थामा पाकिस्तानको स्वतन्त्र कश्मीर सम्बन्धी नारा र कार्यक्रमहरूले रत्तीभर पनि औचित्य राख्दैनन् ।













