एसियन गेम्स पुरुष टी–२० क्रिकेट छनोट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। सिंगापुरमा जारी प्रतियोगिताको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे सुरु हुनेछ।
नेपालले आइतबार भएको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यता हङकङले मलेसियालाई ६ विकेटले हराउँदै नेपालसँगको उपाधि भिडन्त तय गरेको हो।
नेपाल र हङकङबीच हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ खेल भएका छन्। तीमध्ये दुई खेल नतिजाविहीन रहँदा दुवै टोलीले समान पाँच–पाँच खेल जितेका छन्।
आजको फाइनल नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी का लागि विशेष हुनेछ। उनले आफ्नो अन्तर्राष्ट्रिय करियरको १००औँ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै कीर्तिमान बनाउनेछन्।
दीपेन्द्रले सन् २०१८ जुलाई २९ मा नेदरल्याण्ड्स विरुद्ध डेब्यु गरेका थिए। १०० खेलको यात्रा पूरा गर्ने क्रममा उनी टोली सदस्यबाट उपकप्तान हुँदै हाल नेपाली टी–२० टोलीको कप्तानको भूमिकामा पुगेका छन्।
उनले ९९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ८५ इनिङ्सबाट २ हजार २११ रन बनाएका छन्। साथै ७२ इनिङ्समा बलिङ गर्दै ६२ विकेटसमेत लिएका छन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि २ हजारभन्दा बढी रन र ५० भन्दा बढी विकेट लिने दीपेन्द्र पहिलो क्रिकेटर बनेका छन्।













