दुई पटकसम्म विलुप्त घोषित भइसकेको न्युजिल्यान्डको अत्यन्त दुर्लभ प्याराकिट प्रजातिको अस्तित्व जोगाउन एउटा प्रजनन जोडीले असाधारण योगदान दिएको छ । ‘नाचो’ र ‘ट्रिक्सी’ नामका यी दुई चराले मात्रै हाल जीवित कुल सङ्ख्याको १० प्रतिशतभन्दा बढी हिस्सा जन्माएर संरक्षणकर्मीहरूलाई आशावादी बनाएका छन् ।
न्युजिल्यान्डको स्थानीय प्रजाति ककारिकी काराका विश्वकै सबैभन्दा दुर्लभ प्याराकिटमध्ये एक मानिन्छ । ककारिकी काराकालाई सुन्तला–फ्रन्ट प्याराकिट पनि भनिन्छ । गम्भीर रूपमा सङ्कटापन्न अवस्थामा रहेको यो प्रजाति इतिहासमा दुई पटक विलुप्त भएको घोषणा गरिएको थियो, तर पछि पुनः फेला परेको थियो ।
हाल यो प्रजातिका करिब ४५० वटा चरा मात्रै बाँकी रहेको अनुमान गरिएको छ । हाल बाँकी रहेका अधिकांश चरा सुरक्षित संरक्षण क्षेत्र तथा शिकारीमुक्त टापुहरूमा बसोबास गरिरहेका छन् भने केही जङ्गली क्षेत्रमा पनि देखिएका छन् ।
क्राइस्टचर्चस्थित आइज्याक कन्जरभेसन एन्ड वाइल्डलाइफ ट्रस्टले सन् २०२४ मा नाचो र ट्रिक्सीलाई प्रजननका लागि जोडी बनाएको थियो । त्यसयता यी दुवैले ५५ वटा बच्चा जन्माइसकेका छन् । तीमध्ये ३३ वटा बच्चा यस वर्ष मात्रै जन्मिएका हुन् ।
वन्यजन्तु व्यवस्थापक लेह पर्कास्कीले विशेषगरी ट्रिक्सीको अथक प्रजनन क्षमताको प्रशंसा गर्नुभएको छ । उहाँका अनुसार प्रजनन मौसम सकिइसक्दा पनि ट्रिक्सीले अन्डा पार्ने र बच्चा हुर्काउने काम जारी राखेकी छन् ।
“प्रजननको मौसम समाप्त भइसकेको छ, तर उनी अझै पनि अन्डा उत्पादन र बच्चा हुर्काउने काममै सक्रिय रहेकी छन्”, पर्कास्कीले भन्नुभयो, “हामी चाहन्छौँ उनले केही समय आराम गर्न सकून्, तर पछिल्लो समूहमा थप सात बच्चा जन्माएर उनले थकानको कुनै सङ्केत देखाएकी छैनन् ।”
पर्कास्कीका अनुसार नाचोको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । ट्रिक्सी र बच्चाहरूका लागि खाना जुटाउने जिम्मेवारी मुख्य रूपमा नाचोले सम्हालिरहेका छन्, जुन निकै कठिन र व्यस्त काम हो ।
संरक्षण विभागअन्तर्गत ककारिकी काराका पुनःस्थापना कार्यक्रमका प्रमुख वेन बेग्सले नाचो र ट्रिक्सी जस्ता सफल प्रजनन जोडीहरूले यो दुर्लभ प्रजातिको भविष्य सुरक्षित गरिरहेको बताउनुभयो ।
उहाँले मानव देखरेखमा गरिने प्रजनन कार्यक्रम अहिले पनि संरक्षण प्रयासको मुख्य आधार रहेको स्पष्ट पार्नुभयो । “यस्ता कार्यक्रमबिना हामी नयाँ सुरक्षित बासस्थान स्थापना गर्न सक्दैनौँ”, बेग्सले भन्नुभयो, “जङ्गली सङ्ख्या शिकारीका कारण अत्यन्त जोखिममा छ, त्यसैले हामीलाई सधैँ वैकल्पिक सुरक्षित सङ्ख्या आवश्यक पर्छ ।”
पर्कास्कीले नाचो र ट्रिक्सीले आफ्नो प्रजातिको अस्तित्व जोगाउन ठूलो योगदान दिएको उल्लेख गर्दै अब भने उनीहरूले केही विश्राम पाउनुपर्ने धारणा राख्नुभयो ।
“उनीहरूले यति धेरै ऊर्जा कहाँबाट ल्याउँछन् भन्नेबारे म अझै निश्चित छैन”, उहाँले भन्नुभयो, “तर पछिल्लो समूहपछि उनीहरूले राम्ररी आराम गर्न पाउने आशा गरेको छु ।”













