अब मासु खानका लागि कुखुरा काट्नै नपर्ने दिन नजिकिँदैछ। विज्ञानले यस्तो प्रविधि विकास गरेको छ, जसबाट जिउँदो कुखुराको सानो कोशिका लिएर ल्याबमै असली मासु उत्पादन गर्न सकिन्छ। यही प्रविधिलाई ‘कल्टिभेटेड मिट’ वा ‘सेल-बेस्ड मिट’ भनिन्छ।
विश्वभर मासुको माग तीव्र रूपमा बढिरहेका बेला पशुपालन, वधशाला र त्यसबाट हुने वातावरणीय असर ठूलो चुनौती बनेको छ। वैज्ञानिकहरूका अनुसार ल्याबमा उत्पादन हुने मासुले भविष्यमा वातावरणीय क्षति घटाउन र खाद्य सुरक्षामा सहयोग पुर्याउन सक्छ।
कसरी बन्छ ल्याब-ग्रोन कुखुराको मासु?
यस प्रविधिमा पहिलो चरणमा जिउँदो कुखुराबाट अत्यन्त सानो मात्रामा कोशिका निकालिन्छ। त्यसपछि ती कोशिकालाई पूर्ण रूपमा बाँझो ल्याब वातावरणमा राखेर वृद्धि गराइन्छ।
कोशिकाहरूलाई ‘बायोरियाक्टर’ भनिने स्टेनलेस स्टिलका ठूला ट्याङ्कमा राखिन्छ, जहाँ एमिनो एसिड, चिनी, भिटामिन, खनिज, नुन र ग्रोथ फ्याक्टरयुक्त पोषक घोल दिइन्छ।
विशेष ‘स्क्याफोल्डिङ’ संरचनाको सहायताले ती कोशिकाहरू क्रमशः मांसपेशी र चर्बीमा विकसित हुन्छन्। करिब तीन हप्तापछि तयार भएको मासुलाई नगेट, कटलेट, सातेको मासु वा अन्य परिकारको आकार दिइन्छ।
विशेषज्ञहरूका अनुसार यो मासु वनस्पतिबाट बनाइएको ‘भेजिटेरियन मिट’ होइन, बरु वास्तविक जनावरकै कोशिकाबाट बनेको असली मासु हो।
विश्वमा कहाँ स्वीकृत?
सिंगापुर विश्वकै पहिलो देश हो जसले सन् २०२० मा ल्याबमा उत्पादन गरिएको कुखुराको मासु बिक्री गर्न अनुमति दिएको थियो।
त्यसपछि अमेरिकामा सन् २०२३ मा UPSIDE Foods र GOOD Meat लाई उत्पादन तथा बिक्रीको अनुमति दिइयो।
तर सबै ठाउँमा यसको स्वागत भएको छैन। अमेरिकाका फ्लोरिडा र अलाबाले सन् २०२४ मा ल्याब-ग्रोन मासुको उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएका छन्।
उपभोक्तामा अझै संशय
यद्यपि यो प्रविधिलाई खाद्य उद्योगको भविष्य मानिए पनि धेरै उपभोक्ता अझै यसप्रति सहज छैनन्। सर्वेक्षणहरूमा धेरै मानिसहरूले कोशिकाबाट बनाइएको मासु खान नचाहेको बताएका छन्। कम्पनीहरूले यसलाई ‘ick factor’ अर्थात् अप्रिय अनुभूतिसँग जोडेर व्याख्या गरेका छन्।
भविष्य
सन् २००८ देखि नै ‘भविष्यको खाना’ भनेर चिनिएको ल्याब-ग्रोन मासु क्षेत्रमा अहिलेसम्म ३ अर्ब डलरभन्दा बढी लगानी भइसकेको छ। पशु अधिकार संस्था PETA का अनुसार विश्वभर १५६ भन्दा बढी कम्पनीहरू यस प्रविधिमा काम गरिरहेका छन्।
नेपालमा यस्तो प्रविधि तत्काल बजारमा आउने सम्भावना कम देखिए पनि खाद्य सुरक्षा, पशु कल्याण र वातावरण संरक्षणका कारण भविष्यमा यसको यसको महत्त्व अझ बढ्दो छ।













