हाम्रो नेपाली परम्परामा मानिने एक चाड तिहार तथा भाइ टिका र यसमा भाइलाई होस् या लक्ष्मी पूजामा चाहिने मिठाई गुलियो परिकार दिइएको छ । बजारमा पाइनेभन्दा केही फरक र सजिलो पनि छ ।
आवश्यक सामग्री :
चामल भिजाएर खलमा कुटेको पिठो २ कचौरा, दूध चौथाई कचौरा, चिनी मसिनो खालको एक कचौरा, तार्नको लागि तेल या घिउ ।
बनाउने तरिका :
चामलको पीठोमा चिनी मिसाएर मल्ने र आधा घण्टा जति छोडिदिनु । अब दूध राखेर कडा हुने गरी मुछ्दै जानु । पिठो मुछेपछि १०÷१२ घण्टा त्यसै राख्नु । यसरी राख्दा चिनी पग्लँदै जान्छ र पिठो आफैँ नरम हुन्छ । अब एउटा भाँडोमा घिउ तताउनु । पीठोको सानो सानो गोला बनाउने र सालको पात या केराको पातमा हातले दाबेर फैलाउने र अनरसाको आकार दिने । यसरी बनाउँदा धेरै बाक्लो या पातलो हुनु हुँदैन । अब यसको माथि अलिकति चिनी या पोस्ता दाना या सेतो तिल छर्कने अब तातेको घिउमा मध्यम आँच गरेर पकाउनु । पकाउँदा एकै तर्फबाट नफर्काइ पकाउनु पर्छ र माथि तिर डाडु या चम्चाले घिउ हाल्नु पर्दछ । रोटी फुलेर झुर्र भएपछि आँचबाट निकाल्ने । आगोबाट निकाल्दा यो नरम हुनछ र भाँचिने डर हुन्छ । त्यसकारण सावधानी पूर्वक निकालेर राख्नु । निकालेको एकै छिनमा यो कडा हुनछ । यो १२-१५ दिनसम्म राखेर खान सकिन्छ ।
साभारः ‘सजिलो कुकिङ’ पुस्तकबाट













