म्याग्दी, ६ जेठ : यहाँको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताउनुभयो ।
“उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाह्रो भएको थियो, पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ”, उहाँले भन्नुभयो । बर्खामा झाडीमा भिज्दै हिँड्नुपर्ने समस्या हटेको र सर्पले टोक्ने जोखिम घटेको पुनले बताउनुभयो ।
पदमार्ग बनेपछि बिम र डाँडागाउँमा २०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई आवतजावत र हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०८०÷८१ देखि सुरु भएको पदमार्ग निर्माणकार्यलाई चालु आर्थिक वर्षमा पूर्णता दिइएको हो ।
पहिलो वर्ष पूर्वाधार विकास कार्यालयमार्फत विनियोजन भएको रु ३० लाख बजेटबाट बिम तल्लोगाउँमा ४२५ र डाँडागाउँमा २५० मिटर पदमार्ग निर्माण भएको थियो । आव २०८१÷८२ मा रु १० लाख बजेटबाट तल्लो गाउँमा २९० मिटर नाली र त्यसमाथि पक्की पदमार्ग बनाइएको एकीकृत सेवा कार्यालयका इन्जिनियर सुमन बोगटीले बताउनुभयो ।
उहाँका अनुसार चालु आवमा एकीकृत सेवा कार्यालयमार्फत विनियोजन भएको रु १० लाख बजेटबाट डाँडागाउँमा ५५० मिटर पदमार्ग निर्माण भएको छ । तेर्सोमा ढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ । एक दशमलव १० देखि एक दशमलव २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिँडाउन सकिने डाँडागाउँ पदमार्ग निर्माण समितिका अध्यक्ष भलाराम जुग्जालीले बताउनुभयो ।
माटे पदमार्गमा वर्षा हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको तल्लोगाउँका धनकुमार जुग्जालीले बताउनुभयो । तल्लोगाउँमा पदमार्ग निर्माणका लागि चालु आवमा एकीकृत सेवा कार्यालयमार्फत विनियोजन भएको रु पाँच लाख बजेट भने इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण कार्यान्वयन गर्न नसकिएको उहाँले बताउनुभयो ।
बिम र डाँडागाउँ धार्मिक पर्यटकीयस्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् । मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । सरसफाइमा नमूना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट विनियोजन गरेको स्थानीयवासीसमेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।
प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले स्तरोन्नतिका क्रममा रहेको खारा–बिम सडक स्तरोन्नति योजनामार्फत तल्लोगाउँ र डाँडागाउँ बस्तीभित्रको सडक कालोपत्र हुने जानकारी दिनुभयो ।













