वीरगञ्ज (पर्सा), १० वैशाखः वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १० अर्ब १९ करोडअर्थात् १५ प्रतिशत बढी आयात भएको हो । जबकी गत आवको नौ महिनामा भने रु ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताउनुभयो । यो नाका हुँदै चालु आवको नौ महिनामा रु ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रु ३६ अर्ब ६२ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो । चालु आवको नौ महिनामा पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आवको सोही अवधिमा भने रु पाँच अर्ब ७७ करोड मूल्य बराबरको निर्यात भएको थियो ।
त्यस्तै चालु आवको नौ महिनामा पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने रु ५९ करोड मूल्यको मात्रै भएको थियो । चालु आवको नौ महिनामा रु पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने रु छ अर्ब ६१ करोड मूल्यको भएको थियो । चालु आवको नौ महिनामा रु दुई अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडा निर्यात भयो । त्यस्तै चालु आवको नौ महिनामा एक अर्ब ९४ करोड मूल्य पर्ने सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।













