काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की प्राप्त भएको खुलासा गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा साम्पाङले धम्की दिने व्यक्तिको तस्बिरसमेत सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको स्क्रिनसटमा ‘सुनिता खड्का’ नामको आईडी देखिन्छ।
सांसद साम्पाङका अनुसार धम्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का समर्थकबाट आएको हो। उनले लेखेका छन्, “मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा रास्वपाका समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की दिएको छ। यही हो त रास्वपाको समर्थकको लाइन। आजै सीआईबीमा उजुरी दिन्छु, हेरौँ काम हुन्छ कि हुँदैन।” सांसद साम्पाङले यस घटनालाई सरकारको एकपक्षीय दादागिरी र लोकतान्त्रिक आस्थामा धक्का भएको रूपमा व्याख्या गरेका छन्। उनले थप प्रश्न गरेका छन्,
“प्रतिपक्षले प्रश्न गर्दा रिसाउने तिमी को हौ ? प्रतिपक्ष दलले सरकारको कामबारे प्रश्न र स्पष्टीकरण माग्दा रिसाउने तिम्रो लोकतन्त्र कस्तो हो?” उनले धम्की दिने घटनाविरुद्ध आजै सीआईबीमा उजुरी दिने तयारी गरिरहेको बताएका छन्। विश्लेषकहरूले यस घटनालाई प्रतिपक्षमाथि दबाब र लोकतान्त्रिक प्रश्न उठाउने अधिकारमाथि धम्कीको चिन्ता हुनेगरी मुल्याङ्कन गरेका छन्। साम्पाङले संसद र जनसमक्ष सक्रिय भएर आफ्नो आवाज राखिरहेको सन्दर्भमा यस्तो धम्की लोकतान्त्रिक प्रक्रियाको कमजोरी र राजनीतिक अस्थिरताको संकेत पनि हो।
सार्वजनिक रुपमा अर्थात प्रत्यक्ष वा अप्रत्यक्ष ज्यान मार्ने, घर जलाउने अभिव्यक्ति दिनेलाई नेपाल सरकार र प्रहरी अनुसन्धान गरी नियन्त्रणमा ल्याइ आवश्यक प्रचलित कानुन बमोजिम कारबाही गर्नु आवश्यक छ । यदि यस्तो संवेदनशिल विषयमा सरकारले नजर अन्दाज गरेर उन्मुक्ति दिए देशमा अराजकतावादको जन्म हुन सक्छ । हर्क साङपाङका समर्थक तथा श्रम सस्कृति पार्टीका समर्थ र बुद्धिजीबिहरुले सो भिडियो सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरी सरकारसमक्ष कारबाहीको माग गरेका छन् ।













