काठमाडौँ : काठमाडौं स्थित गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच राजदूत महामहिम नवीन श्रीवास्तवले भारत सरकारबाट प्राप्त निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप नेपालका माननीय गृहमन्त्री श्री ओमप्रकाश अर्याललाई औपचारिक रुपमा हस्तान्तरण गर्नुभयो ।
नेपाल सरकारलाई उपहारस्वरुप प्रदान गरिएको सहयोगको तेस्रो खेप अन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकहरु सहित २७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरु रहेका छन् जुन आगामी निर्वाचनको तयारीका लागि नेपालले खोजेको सहयोग अनुरुप रहेको छ । नेपाली सेनाका लागि प्रदान गरिएका यी ट्रकहरु प्रधान सेनापति महारथी अशोक राज सिग्देलले राजदूत महामहिम नवीन श्रीवास्तवबाट ग्रहण गर्नुभएको थियो ।
आफ्नो मन्तव्यमा गृहमन्त्री श्री ओमप्रकाश अर्यालले नेपाललाई समयमै उपलब्ध गराइएको र निकै नै महत्वपूर्ण मानिएको यस सहयोगका लागि भारतीय पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो । वहाँले दुई देशबीचको पारस्परिक हित र बृहत् सहकार्यको प्रशंसा गर्दै यो सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिबद्धताद्वारा निर्देशित रहेको उल्लेख गर्नुभयो ।
भारत सरकारबाट प्राप्त यस्ता निर्वाचन सम्बन्धी सहयोगको पहिलो दुई खेपहरु जसमा ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरु समावेश छन् क्रमशः मिति २०८२ माघ ६ र माघ १५ गते नेपाललाई हस्तान्तरण गरिसकिएको छ । थप सहयोगहरु आगामी दिनहरुमा विभिन्न ब्याचहरुमा उपलब्ध गराइने अपेक्षा गरिएको छ ।
भारतीय पक्षबाट भइरहेको यो सहकार्य र समर्थन दुई देशबीच रहिआएको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब हो । यसले भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रतालाई समेत प्रतीकका रुपमा झल्काउँछ ।












