सन्त कबीरका केही अमर वाणीहरुः
१) सद्गुरुको महिमाको कुनै फेँदटुप्पो छैन । त्यो त अनन्त र अगम्य छ । उनले हामीमाथि जुन उपकार गरेका छन् त्यो पनि अनन्त छ, यसको पनि कुनै सीमा छैन । उनले हामीलाई आत्म–साक्षात्कारको अनन्त दृष्टि दिएका छन् ।
२) सद्गुरुको शरणमा जो आउँदैन तिनको बारम्बार हानी हुन्छ । बिग्रेको बनाउने त सद्गुरु नै हुन्छ । जो उनको शरण पर्दैनन् ती व्यर्थमा नष्ट हुनेछन् । किनकि तीनै लोकमा कालको राज्य छ ।
३) सद्गुरु स्वयम् सत्य स्वरुप हुन् र सत्यको रहस्य बताउन सक्ने हुन् । त्यो शिष्य धन्य हो र उसको भाग्य पनि धन्य हो, जो सद्गुरु पाएर आफ्नो स्वरुपलाई चिन्न सक्छ । यस भौतिक जगतमा माया मोहलाई पार गरेर आफ्नो स्वरुपको अनुभूति गर्नु अति कठिन छ ।
४) सद्गुरुले प्रशन्न भएर एउटा यस्तो प्रसङ्ग बताए कि त्यसलाई शब्दले बयान गर्न सकिन्न । त्यसले हृदयमा प्रेमको बादल बाक्लिएर वर्षिन थालेर सम्पूर्ण शरीर रोमाञ्चित भयो । सद्गुरुको त्यो अलौकिक प्रसङ्ग आत्मसाक्षात्कारको साधना नै हो जसलाई जानेर जिज्ञासु भक्तको खुसी आफ्नो वशमा हुँदैन ।
५) यदि सद्गुरु प्राप्त भए भने त सबथोक प्राप्त भएको जान कि अब पाउन बाँकी कोही छैन । यदि सद्गुरु मिलेनन् भने यो ठीक कि केही प्राप्त भएन किनकि मातापिता, पुत्र र भाइ त घरघरमै हुन्छन् । यी सांसारिक नाता त सर्वसुलभ छन् । तर सद्गुरुको प्राप्ति चाहिँ दुर्लभ छ ।
६) यदि सद्गुरु पाएको ठान, जब ज्ञानको प्रकाश फैलिन्छ । अर्थात् आफ्नो अन्तस्करणको अज्ञानरुपी अन्धकार नष्ट हुन्छ । आफूभित्र जुन भ्रम छ त्यसको घैँटो फुटालेर स्वयम् आफ्नो अद्भूत स्वरुपलाई प्राप्त गरौँ । हृदयमा संशय र भ्रम तबसम्म मात्र अडिन्छन् जबसम्म आत्मदर्शन हुन्न ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













