काठमाडौँ : अमेरिकी दूतावास नेपालले Aadyanta Advisory र अमेरिकन चेम्बर अफ कमर्स नेपाल (AmCham Nepal) सँगको साझेदारीमा Seeding and Scaling Innovation परियोजनाअन्तर्गत Scaling Innovation Dialogue Series औपचारिक रूपमा सुरु गरेको छ। अमेरिका–नेपाल सहकार्यमा सुरु गरिएको यो पहलले दुवै देशका स्टार्टअप तथा उद्यमीहरूलाई सशक्त बनाउन, नेपालको तीव्र गतिमा विकसित हुँदै गएको प्रविधि क्षेत्रलाई सहयोग पुर्याउन, र दुई देशबीचका व्यावसायिक सम्बन्ध तथा व्यापार विस्तारलाई मजबुत बनाउन लक्ष्य राखेको छ।

चार चरणमा सञ्चालन हुने यो कार्यक्रम नेपाली उद्यमी तथा स्टार्टअपहरूलाई अमेरिकी कम्पनीहरूबाट प्रत्यक्ष मार्गदर्शन, विशेषज्ञहरूको सञ्जाल, तथा सिकाइका अवसरहरूसँग जोड्ने उद्देश्यले तयार गरिएको हो। संवाद श्रृंखलामा नेपाली तथा अमेरिकी नेतृत्वकर्ताहरूले नैतिक तथा नवीनतम एआई प्रयोग, विश्व बजारका लागि उत्पाद विकास, प्रविधि साझेदारीको प्रभावकारी उपयोग, र व्यवसाय विस्तारका लागि पूँजी पहुँच लगायतका विषयमा आफ्ना अनुभव र दृष्टिकोण साझा गर्नेछन्।

यस परियोजनाले अमेरिकी व्यवसायहरूलाई नेपाली सीप र प्रतिभासँग जोड्नेछ भने नेपाली स्टार्टअपहरूलाई विश्वस्तरीय अभ्यास, उद्योग नेतृत्वकर्ताहरूसँग प्रत्यक्ष सम्पर्क, र अमेरिकास्थित नवप्रवर्तन प्लेटफर्महरूको पहुँच उपलब्ध गराउनेछ। कार्यक्रमले दुवै देशमा आर्थिक अवसरहरूको विस्तार तथा विश्व बजारसम्मको पहुँच अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।













