कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित दशरथ आधारभूत विद्यालयका विद्यार्थी अहिले कम्प्युटरको आधारभूत ज्ञान लिन थालेका छन् । स्थानीय समाजसेवी मानसिंह तिरुवाले विपन्न परिवारका बालबालिकालाई आधुनिक शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयलाई छ वटा कम्प्युटर सहयोग गरेपछि विद्यार्थीहरू पहिलोपटक व्यवस्थित रूपमा कम्प्युटर शिक्षा लिन सक्षम भएका हुन् ।
कम्प्युटर उपलब्ध भएपछि कक्षा ४ र ५ का विद्यार्थीले सहज रूपमा कम्प्युटरको आधारभूत ज्ञान, टाइपिङ र देशविदेशका विविध शैक्षिक सामग्री हेर्न सक्ने सुविधा पाएका विद्यालयका प्रधानाध्यापक धर्मा ऐर भण्डारीले बताउनुभयो । उहाँका अनुसार दक्ष शिक्षकको व्यवस्था गरी कम्प्युटरको प्रारम्भिक सीप सिकाउने काम नियमित रूपमा भइरहेको छ ।
“कम्प्युटरको व्यावहारिक ज्ञानमा जोड दिएर विद्यार्थीलाई टाइपिङमा दक्ष बनाउँदैछौँ”, प्रअ भण्डारीले भन्नुभयो, “विद्यालयको आन्तरिक स्रोतमार्फत कम्प्युटर कक्षाका लागि फर्निचर र इन्टरनेटको व्यवस्था मिलाएका छौँ । इतिहास, विज्ञान, प्रविधि तथा विश्व घटनाक्रमबारे विद्यार्थीलाई जानकारी दिन कम्प्युटर निकै प्रभावकारी माध्यम बनेको छ ।” उहाँका अनुसार विद्यालयमा अतिविपन्न, दलित तथा जनजाति समुदायका बालबालिका अध्ययन गर्दै आएका छन् ।
कम्प्युटर कक्षा सुरु भएपछि विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेख्य रूपमा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल विकले बताउनुभयो । “पहिले विद्यार्थी सङ्ख्या कम थियो, अहिले सङ्ख्या बढ्दै एक सयको हाराहारीमा पुगेको छ”, उहाँले भन्नुभयो । अधिकांश अभिभावक रोजगारीका लागि भारत जाने भएकाले विद्यार्थी सङ्ख्या स्थिर राख्न कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।
“कति विद्यार्थी अभिभावकसँगै भारत जान्छन्, केही महिनापछि मात्र फर्कन्छन् । फर्किएपछि फेरि कक्षामा समावेश गराएर पठनपाठन अघि बढाउनुपर्छ”, अध्यक्ष विकले भन्नुभयो । विपन्नताका कारण भारतमा रोजगारीका लागि अभिभावकले जानुपर्ने बाध्यता बनेको उहाँको भनाइ छ ।
विद्यालयले आगामी शैक्षिकसत्रदेखि कक्षा १ देखि अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेको अध्यक्ष विकले जानकारी दिनुभयो । उहाँका अनुसार यससँगै बालबालिका चिसो मौसममा न्यानो रहुन् भनेर अमेरिकामा बसोबास गर्ने प्रकाश सुनारले न्यानो ट्रयाकसुट सहयोग गर्नुभएको छ ।
शैक्षिकसत्रभरि स्टेशनरी तथा कार्यालय सामग्रीको अभाव नहोस् भनेर महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आवश्यक सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
विद्यालय नजिकै बगिरहेको सनवोरा नदीले निरन्तर भूक्षय गरिरहेकाले विद्यालय संरचना जोखिममा परेको अध्यक्ष विकले बताउनुभयो । “तटबन्ध निर्माणका लागि सरोकार भएका नकायमा सहयोगका लागि अनुरोध गरिरहेका छौँ, तर अहिलेसम्म चासो देखिएको छैन”, उहाँले चिन्ता व्यक्त गर्नुभयो ।













