काठमाडौं । समाजसेवी तथा पूर्वपञ्च भद्रकुमारी घलेले चिकित्सक डा. निकोलस भुसालमाथि “हस्पिटल बनाउने नाममा” २५ लाख रुपैयाँ ठगी गरेको गम्भीर आरोप लगाएकी छन्। भद्रकुमारीले सामाजिक संचालमार्फत निकोलसले पशुपतिनाथ क्षेत्रमै हस्पिटल बनाउने भनेर आफूसँग रकम लिएको र त्यसपछि सम्पर्क टुटाएको बताएकी हुन्।
उनका अनुसार, निकोलसले घरमै आएर “हस्पिटल बनेपछि उद्घाटनमा बोलाउने” भन्दै नगद रकम लिएका थिए। “मैले आफ्नै घरमा, मेरा कर्मचारी र उनका साथीहरूको उपस्थितिमा हातमै पैसा दिएँ,” उनले एक युट्युब अन्तर्वार्तामा बताइन्। भद्रकुमारीले थपिन्, “त्यो पैसाबाट उनले कहिल्यै हस्पिटल बनाएनन्, बरु पछि सामाजिक सञ्जालमा हिंसात्मक अभिव्यक्ति दिन थाले।”
हिंसात्मक अभिव्यक्तिपछि डा. निकोलस भुसाललाई मंगलबार फेरि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उनलाई गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट मंगलबार बिहान पक्राउ गरिएको हो।
भुसालले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने चेतावनीसहितको उत्तेजनात्मक अभिव्यक्ति दिएका थिए। प्रहरीले अभिव्यक्तिले सामाजिक तनाव फैलाउने सम्भावना देखेपछि उनलाई अग्रिम रूपमा नियन्त्रणमा लिएको जनाएको छ। यो भुसालको पहिलो पक्राउ होइन। उनी यसअघि पनि असोज २३ गते माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ परेका थिए। सो क्रममा उनको स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको पाइएको थियो र परिवारको जिम्मामा “सुधार केन्द्र पठाउने सर्तमा” छोडिएको थियो। तर उनले नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउदै आएका थिए । ।
तर त्यसपछि पनि उनी सामाजिक सञ्जालमा उग्र र हिंसात्मक अभिव्यक्ति दिँदै आएका थिए। भर्खरै उनले “जेन–जी आन्दोलन” का सन्दर्भमा प्रधानमन्त्री ओली, लेखक र रिजालमाथि “सर्वसाधारणमाथि अत्याचार गरेको” आरोप लगाउँदै “उनीहरूको घर घेर्ने” चेतावनी दिएका थिए। प्रहरीले अहिले डा. भुसालमाथि हिंसात्मक अभिव्यक्ति र ठगी दुवै मुद्दामा प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। एसएसपी बस्नेतका अनुसार, “उनीमाथि प्राप्त भएका सबै प्रमाण र सार्वजनिक अभिव्यक्तिहरू संकलन भइरहेको छ। भद्रकुमारी घलेले सार्वजनिक रूपमा लगाएको ठगी आरोपबारे पनि कानूनी प्रक्रिया अघि बढाइनेछ।”
भुसाललाई काठमाडौँ ल्याएर अनुसन्धान जारी रहेको र आवश्यक परे साइबर तथा ठगी अपराध दुवै आधारमा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ। हस्पिटलको नाममा ठगी गरेको आरोप र हिंसात्मक गतिविधिमा संलग्नताका कारण डा. निकोलस भुसाल फेरि प्रहरी नियन्त्रणमा आएका छन्। सामाजिक सञ्जालमा सक्रिय भुसाल अहिले विवादका केन्द्र बनेका छन्, भने भद्रकुमारी घलेले भनेकी छन् — “अब म न्याय पाउँछु भन्ने विश्वास छ।”














