काठमाण्डु– पछिल्लो १२ घण्टामा वर्षा र हिमपातले देशका अधिकांस क्षेत्र प्रभावीत बनेका छन् ।
१२ घण्टादेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले बुलेटिन जारी गर्दै दिएको जानकारीअनुसार गएको १२ घण्टामा गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान साथै कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका पहाड र तराई भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ ।
गण्डकी प्रदेशका मनाङ र मुस्ताङ आसपासका हिमाली क्षेत्रमा भने मध्यमदेखि भारीसम्म हिमपात भइरहेको मौसम विभागले जानकारी दिएको छ।
वर्षा र हिमपात भइरहेका स्थानहरूमा थप वर्षारहिमपात हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् ।
हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । गए राति हल्का पानी पर्न सुरु भएको थियो ।
सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् ।
त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ ।
हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन् ।















