काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पताल सुत्केरीको मृत्युको घटनापछि दुई दिनदेखि तनावग्रस्त बनेको छ। शुक्रबार राति सुत्केरी मिनाश्री राईको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक र अस्पताल प्रशासनमाथि चरम लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शन उग्र बन्दै गएपछि शनिबार प्रहरीले भीड नियन्त्रणका लागि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। घटनामा केही व्यक्ति घाइते भएका छन्।
परिवारको आरोप : ‘इन्टर्न डाक्टरको लापरबाहीले ज्यान गयो’
मृतककी दाजु देवेन्द्र राईका अनुसार मिनाश्रीले शुक्रबार बिहान ९ बजे अस्पताल पुगेकी थिइन्।
तर राति साढे ९ बजेतिर इन्टर्न चिकित्सकले सीनियर चिकित्सकको सल्लाहबिना नर्मल डेलिभरी गराउँदा अत्यधिक रगत बगेर उनको ज्यान गएको उनले दाबी गरे। देवेन्द्रले भने, “हामीले अपरेसन गर्न अनुमति दिएका थियौं, तर अस्पतालले ढिलाइ गर्यो र झुक्याउने नाटक गर्यो। यो स्पष्ट लापरबाही हो।”
अस्पतालमा तोडफोड र प्रहरी हस्तक्षेप
मृतकका आफन्त र स्थानीयले “किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्रीलाई न्याय दे” लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए। आक्रोशित भीडले अस्पतालको गेट तोडफोड गर्दै ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेर भीड तितरबितर गरेको हो। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी र सशस्त्र फौज परिचालन गरिएको छ।
स्थानीयको आक्रोश र अस्पतालको प्रतिक्रिया
स्थानीयवासीले अस्पताल परिसरमै अश्रुग्यास हानिएको भन्दै आक्रोश प्रकट गरेका छन्।
परिवारजनले भने अस्पताल प्रशासनले वार्ताको सट्टा प्रहरी परिचालन गरेर पीडितमाथि नै दमन गरेको आरोप लगाएका छन्।
अस्पताल प्रशासनले भने घटनाबारे आफन्तसँग संवाद भइरहेको र सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानबिन अघि बढाइएको जनाएको छ। यस घटनाले स्वास्थ्य क्षेत्रको उत्तरदायित्व, चिकित्सकीय लापरबाही र पीडित परिवारको न्यायका सवालमा पुनः गम्भीर प्रश्न उठाएको छ।














