काठमाडौं । चर्चित गायिका नितु पौडेलको पार्थिव शरीरको शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पौडेलको शुक्रबार बिहान मृत्यु भएपछि उनका परिवारले पोस्टमार्टम पश्चात अन्त्येष्टि गरेका हुन्।
गायिका पौडेलले कात्तिक १ गते काठमाडौंको एक स्टुडियोभित्र पेट्रोल छर्की आत्मदाहको प्रयास गरेकी थिइन्। गम्भीर रूपमा जलिएकी उनलाई तत्क्षण उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। करिब एक साताको उपचारपछि उनलाई शुक्रबार बिहान साढे ८ बजे चिकित्सकले मृत घोषित गरेका थिए। पौडेलको मृत्युपछि घटनाको पृष्ठभूमि विवादास्पद बन्दै गएको छ। उनका दाइ गणेश पौडेलले बहिनीको मृत्यु आत्महत्या नभई हत्या भएको दाबी गर्दै प्रहरीमा कर्तव्यज्यानको जाहेरी दर्ता गराएका छन्।
गणेशका अनुसार, उनकी बहिनी र गायक बाबुल गिरीबीच करिब आठ–नौ वर्षदेखि प्रेम सम्बन्ध थियो। उनले दाबी गरेका छन्, “त्यो स्टुडियोमा दुई जना मात्रै थिए, तर जलाएर हत्या गरिएको छ।” उता, स्टुडियोका सञ्चालक गायक बाबुल गिरीले भने प्रारम्भिक बयानमा नितुले आफैं आगो लगाएकी बताउँदै आफूले निभाउने प्रयास गर्दा सामान्य घाइते भएको बताएका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थल र प्रमाण संकलन गरिरहेको जनाएको छ।
संगीत क्षेत्रका उनका साथी तथा प्रशंसकहरूले पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।













