लमजुङ। आधुनिक सञ्चार प्रविधि गाउँ–गाउँमा पुगे पनि लमजुङका कतिपय बस्तीमा अझै ‘कटुवाल प्रथा’ कायम छ ।
बेँसीसहर नगरपालिका–१० का गाउँबेँसी, लेतेफाँट, कल्लेरी, डाँडागाउँ, क्व्होलासोथर–८ का घाम्राङ, घिचे, साल्मेलगायतका गाउँमा आज पनि सूचना प्रसार गर्ने काम कटुवालकै भरमा हुने गरेको छ । ७० वर्षीय कालु परियारले ३५ वर्षदेखि गाउँको डाँडामा उभिएर ठूला स्वरमा सूचना सुनाउँदै आएका छन् । विवाह, भेला, बैठकदेखि गाउँमा हुने अन्य कार्यमा स्थानीयलाई सहभागी गराउन उनी कटुवालकै रूपमा सक्रिय छन् ।
स्थानीय शिक्षक नन्दराज घले भन्छन्, “अन्य माध्यमबाट खबर थाहा पायौं भने पनि कटुवालले कराएपछि मात्रै ढुक्क हुन्छौं ।” गाउँमा सूचना दिनको लागि अझै कटुवालमै भर पर्ने चलन रहेको स्थानीयहरू बताउँछन् ।
परम्परागत रूपमा कटुवाललाई प्रतिघर अन्नपात दिने चलन छ । परियारलाई हाल प्रतिघर दुई पाथी कोदो वा सो बराबर रकम दिने गरिएको छ । तर, उनले नयाँ पुस्तामा यो पेशाप्रति चासो नदेखिएको र आफूपछि प्रथा हराउने चिन्ता व्यक्त गरेका छन् ।
त्यस्तै, घाम्राङका दूधबहादुर गुरुङले पनि कटुवालको जिम्मा सम्हालेका छन् । उनी वार्षिक पाँच मुरी धान र एक मुरी कोदो पाउने गरेका छन् ।
गाउँमा असिना बार्ने, बीउ बार्ने, विकास निर्माण, खानेपानी मर्मत, सामुदायिक वनको गोडमेल, दाउरा काट्ने, गाईभैँसी लैजानेजस्ता सामूहिक कार्यमा पनि कटुवालले नै सूचना दिने गरेका छन् । वडा सदस्य खमाया गुरुङका अनुसार कटुवालले दिएको सूचना अझै सबैभन्दा विश्वासिलो ठानिन्छ ।













