काठमाडौं, साउन १७ – पञ्चायत व्यवस्था अन्त्य भएपछि बहुदलीय प्रजातन्त्र स्थापना भएको झन्डै तीन दशक बितिसक्दा पनि आम नेपाली जनताको जीवनस्तरमा उल्लेख्य सुधार नआएकोप्रति जनआक्रोश तीव्र हुँदै गएको छ। पुराना राजनीतिक दलहरूप्रति जनता निराश र आक्रोशित छन्, जसले दशकौंदेखि पालैपालो शासन गर्दै आएको भए पनि मुलुकको आर्थिक, सामाजिक र नैतिक अवस्थालाई समृद्ध मार्गमा डोर्याउन सकेका छैनन्।
बढ्दो बेरोजगारी, भ्रष्टाचार, न्यूनस्तरको शिक्षा र स्वास्थ्य सेवा, विदेशी रोजगारीमा पलायन हुँदै गरेका युवा तथा विदेशमा सन्तान पठाउन बाध्य अभिभावकहरूको अवस्था स्वयंमा राज्यको असफलताको प्रतिक बनेको छ। “देशमा केहि गरी खाउँ भन्ने विश्वास नै हराइसकेको छ,” भन्छन् एक युवा व्यवसायी हरी धमला, “हाम्रो हजुरबुवा देखी छोरी सम्म एउटै नेताका भाषण सुनिरहेका छौं, तर विकासको नाममा खोक्रो सपना मात्रै बाँडिएको छ।”
जनताको दु:ख ब्याज झैँ बढिरहेको छ भने सरकार भने गम्भीर देखिँदैन। उच्च पदस्थ नेताहरूबाटै घुस, अनियमितता र जनविरोधी गतिविधि भइरहँदा पनि आम नागरिक भने निरीह बनेका छन्। यसले गर्दा अहिले आम मतदाता ‘पुराना दलले अब देश चलाउन सक्दैन’ भन्ने निष्कर्षमा पुग्न थालेका छन्।
यही जनआक्रोशको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीजस्ता नयाँ राजनीतिक शक्ति उदाउँदै छन्। विश्लेषकहरू भन्छन्, “यदि वर्तमान लहर यथावत रह्यो भने आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७० देखि ९० सिटसम्म जित्न सक्छ।”
अहिलेको प्रश्न भनेको – के यो क्रान्ति अस्थायी उत्तेजना मात्र हो कि दीर्घकालीन राजनीतिक परिवर्तनको संकेत हो? जनताको चाहना स्पष्ट छ – अब युवालाई मौका दिऔं, पुराना अनुहारले आशा मारिसके।
नयाँ पुस्ता, नयाँ सोच र निष्ठावान नेतृत्व बिना नेपालको समृद्धिको सपना अपूरो नै रहनेछ। जनता अब निर्णयको मोडमा छन् – परिवर्तनको बुई काँधमा बोकेर नयाँ अनुहारहरूलाई अवसर दिने कि विगतका गल्तीहरू दोहोर्याउने?













