विश्वका महान् कहानी लेखकमध्येका एक ओ.हेनरीको जीवन कठिन परिस्थिति र अप्रत्यासित चुनौतिहरुका बाबजुद सफलता प्राप्त गर्नुको प्रेरक उदाहरण हो । रोचक तथ्य त यो हो कि जुन व्यक्तिको शिक्षा ज्यादै कम थियो र जो कहिल्यै पनि हाइस्कुल गएका थिएनन्, आज उनैले लेखेका कहानीहरु संसारभरिका स्कुल–स्कुलमा पढाइन्छ ।
१५ वर्षको उमेरमा ओ.हेनरी आफ्ना अंकलको ड्रगस्टोरमा काम गर्न थाले । केही वर्षपछि उनी टेक्सास गए जहाँ उनले दश वर्षसम्म बैंक क्यासियरको रुपमा काम गरे । १८९६ मा हेनरीलाई बैंकको रकम हिनामिना गरेको आरोप लाग्यो । रकम थोरै थियो र त्यो घटना लेखाको सानो त्रुटी हुन सक्थ्यो । यस घटनाबाट डराएर हेनरी होंडूरस भागे । त्यहाँ रहँदा उनले आफ्नी श्रीमती गम्भीर बिमार भएको खबर पाए । १८९७ मा नै उनी टेक्सास फर्के र पत्नीको मृत्युपछि आफैलाई पुलिसको जिम्मा लगाए ।
उनलाई पाँच पुलिसको सुनाइयो । कोलम्बस, ओहियोको जेलका कालकोठरी उनका लागि अभिशाप नभईकन वरदान सावित भयो । त्यहीँ उनको मनमा कथा–कहानी लेख्ने विचार आयो । र जेलमा नै उनले आफ्ना अमर कहानी लेख्न शुरु गरे । उनलाई जेल नहालिएको भए उनी कहिल्यै पनि लेख्नमा लाग्दैनथे होला । तीन वर्षको जेलसजायपछि छुटेर उनी न्यूयोर्कमा रहन थाले । उनले लेखनलार्य नै पूर्णकालिक व्यवसाय बनाए । आफ्नो जीवनका अन्तिम दश वर्षमा ओ. हेनरीले ५०० भन्दा धेरै कहानीहरु लेखे । उनको जीवनबाट हामीलाई यो पाठ मिल्छ कि कतिपय अवस्थामा हामीले समस्याको रचनात्मक प्रयोग गर्न सकेमा हाम्रो प्रगतिको बाधक नभईकन सहायक बन्छ ।
साभारः ‘सफलता’ पुस्तकबाट













