सुफी गीत आजभोलि खुबै चल्दछ । कुनै धर्म या सम्प्रदाय विशेषको नभई सुफी एउटा दर्शन हो, अनि यसै दर्शनमा अटाएका समग्र विश्वलाई नै सुफीले सङ्गीतका माध्यमबाट छरपस्ट पारिदिन्छ ।
कतिपयले सुफीलाई इस्लाम धर्म र अब्राहामीक दर्शनसँग जोडेर मात्र हेर्दछ, कतिपयले सुफीलाई सन्त र फकिरहरूको भाषाका रूपमा व्याख्या गर्दछन् तर चौडा नजरले हेर्ने हो भनेँ मोहम्मदको प्रेम देखि मिरा र कृष्णको भजनमा अनि हिमालय पारिका गीत देखि बङ्गालको खाडी सम्मका सभ्यतासम्म सुफीको रस छ ।
भगवानको स्वरूप फरक भए पनि भारत वर्षमा पुकारा गरिने चलन र सङ्गीत शब्द र भावमा एकरूपता पाइन्छ चाहे त्यो बगंलादेशको आजान होस् या पाकिस्तानको कवाली होस् या नेपाली खैँजडी होस् या अफगानिस्तान रुवाइयत किन नहोस् ?
यस्तै एक सुफी सन्त थिए पाकिस्तानका, अमजद साब्री । भौतिक रूपमा उनी हामीमाझ त छैनन् तर उनका गीत र दर्शनले हामीमाझ उनलाई मर्न दिएका पनि छैनन् ।
साब्रीको एउटा रुवाइयत यहाँ लेख्न चाहेँ ।
मेरो अँध्यारो चिहानमा म एक्लै डराएर बसेको बेला
मेरो साथ दिन आउनुहोला, ए मेरा भगवान्
कसले पो सोचको थियो र ? अमजद यति छिटै साँच्चै चिहानमा पुग्लान् भनेर तर लेखेको कुरा मेटिएन ।
सन् २०१६ को जुन २२ तारिखमा यी चर्चित र अत्यन्त लोकप्रिय कवाली गायकलाई गोली हानी मारियो । सुफी गाएर स्नेहको दर्शन बाँढ्ने यिनलाई इश्वरनिन्दा अर्थात् ब्लासफेमीको आरोप थियो ।
रमा दानको पवित्र महिनामा चिहान र ईश्वर लाइ जोडेर गीत त यिनले गाए तर त्यसरी गीत गाएको १२ घण्टा नबित्दै यिनले धर्ती छाडे । यिनको हत्याको जिम्मा लिने तालिवानहरु आज अफगानिस्तानको सत्तामा छन्, पाकिस्तानको र अफगानिस्तानको शासकहरूको तालमेल पनि बढ्दो छ र अमदज साब्रीले मृत्युपर्यन्त न्याय पाउने आशा पनि मर्दो छ । डिसेम्बर २३ १९७० मा कराँचीमा जन्मेका साब्रीलाई भिडमा गाडी चलाउँदै गर्दा मोटरसाइकलमा आएका २ जनाले गोली चलाएर मारेका हुन् ।
धर्मका ठेकेदारहरूले अम्जद साब्रीलाई मारेपछि एक पटक त विश्व सङ्गीत नै स्तब्ध बन्यो । अल जफर, अलविदा प्रविन लगायत भारतका पनि धेरै कलाकारहरूले अम्जदको लागि धेरै पटक स्टेजमा सम्झना स्वरूप गीत र आँसु बगाए र बगाउँदै आएका छन् ।
अमजदका सुफीमा कुनै धर्म मात्र थिएनन्, उनले सबै धर्मका लागि गाए । उनका भजनमा कहिलेकाहीँ कृष्ण मिरा पनि भेटिन्थे, यही कुराले यिनलाई नराम्रो बनाउँदै लग्यो ।
अमजद मान्छे बन्न चाहे, धर्म भन्दा मानवतामा डुब्न चाहे र यसै कारणले उनी मारिन पुगे ।
अल्लाहले अम्जदलाई आफूमा समाहित गरुन् ।