जापानको सुन्दर उत्तरी टापु होक्काइदो—जहाँ राजधानी टोकियोभन्दा टाढा भए पनि नेपालीहरूको बाक्लो उपस्थिति छ । अनुमानित २,५०० भन्दा बढी नेपाली यहाँ अध्ययन, रोजगार, व्यवसाय तथा तालिमका विभिन्न श्रेणीको भिसामा बसोबास गरिरहेका छन् ।
तर, अचम्मको कुरा के छ भने—जसले प्रवासी नेपालीहरूको हकअधिकार, चिन्ता र प्रतिनिधित्व गर्ने जिम्मेवारी लिएको दूतावास होस् वा गैर–आवासीय नेपाली संघ (एनआरएनए), होक्काइदो शहर अझै पनि ती सबैका नजरबाट ओझेलमा परेको क्षेत्र बनेको छ ।
विशेषगरी, जुलाई २७ मा हुन लागेको एनआरएनए जापानको निर्वाचनलाई लिएर पनि यहाँको नेपाली समुदायमा निराशा छ । करिब १५०–२०० नयाँ सदस्य रहेको यो क्षेत्रबाट न त उम्मेदवारको भ्रमण भएको छ, न त संलग्नताको सन्देश नै आएको छ । यति ठूलो मतदाता संख्याको उपस्थिति हुँदाहुँदै पनि कुनै उम्मेदवारले यहाँसम्म आइपुग्नु जरुरी ठानेनन्, आखिर किन ?
के यहाँका नेपालीहरू नेपालीनै होइनन् भन्ने सोच हावी भएको हो त ? कि टाढा टापुको नाममा हेक्का नगर्ने प्रवृत्तिको बलजफ्ती बनिसकेको हो ? होक्काइदोका नेपालीहरू आफैंले प्रश्न गरिरहेका छन् की हाम्रो अभिभावक संस्था हो भन्ने विश्वास गर्ने एनआरएनए किन हामीप्रति उदासीन रहन्छ ? अरू बेला त वास्ता नगरे पनि, कम्तिमा चुनावको बेलामा त यहाँ आइदिउन् भन्ने अपेक्षा छ यहाँ बस्ने नेपालीहरुमा ।
यो केवल क्षेत्रीय मुद्दा होइन, यो प्रवासी नेपालीहरूको समान प्रतिनिधित्व र आत्मसम्मानको विषय हो । विकसित मुलुकमा बसेर पनि होक्काइदोका नेपालीहरू आज अभिभावकविहीन महसुस गरिरहेका छन्, टुहुरोझैँ ।
अब पनि समय छ । सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ—होक्काइदोको मौनता चीरिदिनु आवश्यक छ । प्रतिनिधित्वको अधिकार सिमित भौगोलिक क्षेत्रभित्र मात्रै सीमित हुनुहुन्न । हामी सबैको आवाज सुन्ने र सुन्ने वातावरण सिर्जना गर्न एनआरएनए जस्तो संगठन प्रतिबद्ध देखिनुपर्छ ।
होक्काइडोका नेपालीहरू उपेक्षा होइन, सम्बोधन चाहन्छन्, साथ र सहभागिता चाहन्छन् अब त्यो जिम्मेवारी पुरा गरौं ।
– महेन्द्र केसी
होक्काइदो, जापान













