काठमाडौं : नेपालको वैदेशिक व्यापारघाटा २०८१/८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनामा १ खर्ब भन्दा बढीले वृद्धि भएको हो।
नेपालको वैदेशिक व्यापार घाटा २०८०/८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब व्यापार घाटा व्यहोरेको छ।
अघिल्लो वर्षको तुलनामा यो व्यापारघाटा ६ प्रतिशतले बढेको हो। नेपालले खासगरी, भारत, चीन लगायतका देशहरूसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ। परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ।
नेपालले २०८१/८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो। भन्सार विभागका अनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ। यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ।
यस्तै, निर्यात वृद्धिले रेकर्ड तोडेको छ। २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ। यो निर्यात अघिल्लो आ.व.को तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो। अघिल्लो आ.व. २०८०/८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो।













