आयुर्वेद ग्रन्थहरुमा आहारलाई सबैभन्दा ठूलो रोग क्षुधारोगको परम औषधी मानिएको छ । रोग–व्याधि भन्ने बित्तिकै तर्सिने, कराउने र डराउने हाम्रो बानी छ । तर यस उक्तिको अभिप्रायलाई गहिरिएर मनन गर्ने हो भने बोध हुन्छ कि हाम्रो शरीरमा कुनै पनि रोगव्याधिको अस्तित्व नै छैन । रोग, मानवीय शरीरको मौलिक धर्म होइन । यो संसारमा केवल एक प्रकारको सर्वप्रचलित रोग शरीरमा उब्जने गर्दछ । त्यो हो— क्षुधारोग । अर्थात भोक प्यास लागिरहने रोग । वास्तवमा यो क्षुधारोग कहिल्यै निको हुँदैन । प्रतिदिन उत्पन्न हुन्छ र प्रतिपल सताउने गर्छ । यो त्यस्तो रोग हो, औषधी गरे केही क्षणका लागि निको हुन्छ, पछि फेरि उब्जिहाल्छ ।
बारम्बार उत्पन्न भइरहने ‘क्षुधारोग’ शरीरको एक मात्र अनिवार्य रोग हो भने त्यसको अचुक औषधी हामीले खानेपिउने वस्तु हो, त्यो हाम्रो आहार हो । जब कसैलाई कुनै रोगब्याधिले आक्रमण गर्छ, ऊ सकेसम्म त्यो बिरामीबाट चाँडो निको हुन चाहन्छ । यसका लािग व्यक्ति अनेक प्रकारका औषधीमुलोको शरणमा पुग्छ । यस क्रममा ऊ औषधिको रुपमा तीतो, नमीठो, स्वादहीन, गन्हाउने, हेर्दा नराम्रो जस्तोसुकै दबाइ–पानी दिए पनि नहिच्किचाइकन सेवन गर्न तत्पर हुन्छ किनकि उसलाई शीघ्रातिशीघ्र रोग निको पार्नुछ । यसरी अन्य रोगका लागि बिनाछनौट जस्तो दियो त्यस्तै औषधीको सेवन गर्न तयार हुने व्यक्ति सबैभन्दा भयङ्कर रोग क्षुधारोग निको पार्न चाहिँ खानेकुराको स्वाद, रङ, रुप, गन्ध हेरेर यो मीठो त्यो नमीठो भनेर दिमाग लगाउँछ । यो कुरा कदापि तर्कसङ्गत छैन ।
उपर्युक्त मान्यतामा उभिएर अन्नलाई नै जीवनको सर्वाेपयोगी औषधि मान्न सकिने पर्याप्त आधारहरु छन् । दिनहुँ खानुपर्ने जीवनदायिनी अन्नलाई नै परम औषधि मानिसकेपछि त्यही अन्नप्रति नकारात्मक दृष्टि राखिनु हुँदैन, जसरी रोगको पीडामा त्यस्तो दृष्टि औषधिप्रत राखिँदैन । सच्चा विवेकशीलता त्यो हो, जहाँ खानेकुरामा निहित पौष्टिकता, शुद्धता, सात्विकता, मात्रात्मक सन्तुलन तथा प्राकृतिक विशेषतालाई हेरियोस्, न कि त्यसको स्वाद, रङ र रुपलाई महत्व दिइयोस् ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













