काठमाडौं – आधुनिक स्वास्थ्य विज्ञानको पक्षमा पैरवी गर्नेहरु दिनमा धेरै पटक खानुलाई मानसिक तनावको उपचार भन्दछन् । कतिपय विज्ञहरु वृद्धत्व सँगसँगै पटकपटक खाइरहने बानी राम्रो भनी सल्लाह दिन्छन् । डाक्टरहरु मधुमेहको रोगीले पेटमा भोक बढ्न दिनुहुन्न, त्यसैले दर्जनौँ पटक खाइरहनु पर्छ भन्ने सल्लाह दिन्छन्, तर आयुर्वेदका आचार्यहरु यसभन्दा भिन्न मत राख्छन् ।
उनीहरु भन्छन्— पटकपटक खाइरहनु स्वास्थ्यका लागि घातक बानी हो । त्यसैले, हरेक व्यक्तिले आहार संयमसम्बन्धी निश्चित नियमको पालना गर्नुपर्दछ । मनुष्यबाहेक सम्पूर्ण पशुपंक्षी पेट भरिएपछि भोक नलागुन्जेलसम्मका लागि खानेकुरा हेर्दैनन् जब कि बुद्धिविवेकयुक्त मानिस भने यस विषयमा अज्ञानग्रस्त छ किनकि धेरैजसो व्यक्ति पटकपटक खाइरहनुलाई खुशी जीवन मान्दछन् । समयको पर्वाह नगरी पटकपटक खाने प्रवृत्तिले पेटभित्र पार्ने असर हेर्ने वैज्ञानिकहरु बेरियम एक्स–रेको प्रयोग गर्छन् ।
उक्त एक्स–रेद्वारा पत्ता लगाइएअनुसार भोक नलागेको बेला या अरु बेलामा पनि पटकपटक खाइरहने गर्दा जुन खानेकुरा साढे तीन घण्टाभित्र पचेर आमाशयबाट आन्द्रातर्फ अगाडि बढ्नुपर्ने हो, त्यही खानेकुरा पच्नलाई सातदेखि नौ घण्टा लाग्छ । उदाहरणको रुपमा खाना (लन्च) खाएको एकडेढ घण्टाभित्रै आइसक्रिम या मिठाइ खायो भने तीन घण्टामा पच्नुपर्ने आइसक्रिम वा मिठाइ पच्न दोब्बर समय अर्थात् छ–सात घण्टा लाग्छ । यसरी, खानेकुरा पच्नलाई बढी समय लाग्नु भनेको खानेकुरालाई सड्ने–बिग्रने मौका दिनु हो ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













