काठमाडौं : दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। वीरगञ्जको आर्दशनगर रंगशालामा दिउँसो ३ बजे हुने खेलमा यी दुई टोली आमने सामने हुने भएका हुन्।
मच्छिन्द्रले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनियनलाई २-१ गोलअन्तरले पराजित गरेको थियो भने सेमिफाइनमा सहलेश फुटबल क्लब सिराहालाई ३-१ गोलअन्तरले हराएको थियो । यस्तै नेपाल पुलिस क्लबले क्वार्टरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २-१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई टाईब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै उपविजेता हुने टोलीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ।