काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले आज यहाँ आयोजना गरेको ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन’को उद्घाटन समारोहमा उनले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पु¥याउने उल्लेख गरे ।

“पछिल्लो समय ‘स्टार्ट अप’ व्यवसायतर्फ आकर्षण बढ्दो छ, युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढङ्गले काम गर्ने प्रयास गर्दैछन्, यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ”, सभापति देउवाले भने, “व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्यसँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ, थोरै लगानीमै ‘स्टार्ट अप’ व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।”
योसँगै बहुसम्भावनाका क्षेत्र कृषि, वन, जडीबुटी, पर्यटन, प्रविधिजस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्ने उनको भनाइ थियो । उनले भने, “उद्यमी, व्यापारी, व्यवसायीले भोग्नुपरेका कानुनी तथा प्रक्रियागत झन्झट अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानुन ल्याएको छ, यो कानुनले यस क्षेत्रको सुधारमा आवश्यक सहयोग पुग्ने विश्वास लिएको छु ।”

मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि भएको बताउँदै सभापति देउवाले यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संशाधन, पुँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्नेमा जोड दिए ।
“यहाँ हुने विभिन्न नवीनतम उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ, बेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ”, सभापति देउवाले भने, “नवप्रवर्तन र उद्यमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनसमेत टेवा पुग्ने मेरो विश्वास छ ।”
उनले यस सम्मेलनको छलफलबाट आएका निष्कर्षबाट एउटा कार्ययोजनाको खाका तय गर्न पार्टीलाई मात्र नभई सरकारलाई पनि मार्गदर्शन गर्ने अपेक्षा गरे । “सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरुको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनीमार्फत स्थानीय उत्पादनको प्रचार–प्रसार एवं बिक्रीमा वृद्धि गर्नेलगायत जुन लक्ष्य राखिएको छ, सबैको प्रयासबाट अपेक्षित परिणाम हात लाग्ने नै छ”, उनले भने ।
सम्मेलन आज र बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । खासगरी केही गरौँ भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ । सम्मेलनमा विभिन्न क्षेत्रका सिकाइ, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुने आयोजकको भनाइ छ ।
नेपाल स्टार्टअप र एसएमई समिट मा प्रस्तुत नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूको मन्तव्य
माघ १६—१७, २०८१
यस कार्यक्रमका सभापतिज्यू,
नेपालका लागि इजरायलका महामहिम राजदूत स्मुलिक एरी वास
कार्यक्रममा उपस्थित साथीहरु,
पत्रकार मित्रहरु,
सर्वप्रथम, नेपालमा नागरिकको स्वतन्त्रता, समानता र न्याय सहितको लोकतान्त्रिक अधिकार प्राप्तिको हरेक आन्दोलनको अग्रमोर्चामा बीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरूको साहस, संकल्प र आदर्शलाई स्मरण गर्दै उच्च सम्मानका साथ शहीद दिवसका अवसरमा उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।
नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले ुल्भउब िक्तबचतगउ बलम क्ःभ् क्गmmष्तु आयोजना गरेकोमा विभागीय प्रमुख तथा विभागका सबै साथीहरुलाई बधाई तथा धन्यवाद दिन चाहन्छु ।
यस विभागले अत्यन्त अनुकरणीय र सह्रानीय कामको सुरुवात गरेको छ । खासगरी केही गरौं भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने बिषयमा यो कार्यक्रममा छलफल हुने विश्वास मैले लिएको छु ।
गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता हो । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पु¥याउँछ ।
पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयाश गर्दैछन् । यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ । थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।
यो सँगै बहु सम्भावनाका क्षेत्र कृषि, वन, जडिवुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्न सक्छ ।आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो नीजि क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ ।
यही अवस्थालाई मध्यनजर गरि नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएका हौं ।
नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरुको व्यवसाय प्रवर्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरुको समस्या वुझि पार्टीलाई सुझाव दिन “उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग” गठन गरेका हौं । उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानूनी तथा प्रकृयागत झन्झटहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ । यो कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु ।
मुलुकको समुन्नतीका लागि राज्यको ध्यान पुग्नु पर्ने अर्को विषय सूचना प्रविधि हो । यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पूँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्दछ ।
दुई दिनसम्म हुने यो कार्यक्रमले विभिन्न क्षेत्रका सिकाई, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुनेछ भन्ने मेरो विश्वास छ ।
यहाँ हुने विभिन्न नविन उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ भने वेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ । नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने मेरो विश्वास छ ।
यस सम्मेलनमार्फत पार्टीको दृष्टीकोणसँग युवा उद्यमी एवम् नयाँ पुस्ता जोडिँदा अवश्य पनि नेपाली कांग्रेस पार्टी थप बलियो हुनेछ ।
यस सम्मेलनको छलफलबाट आएका निश्कर्षहरुबाट एउटा कार्ययोजनाको खाका तय गर्न हाम्रो पार्टीलाई मात्र नभै सरकारलाई पनि मार्गदर्शन गर्ने अपेक्षा मैले लिएको छु । सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरुको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनी मार्फत स्थानीय उत्पादनहरुको प्रचार–प्रसार एवम् बिक्रीमा बृद्धी गर्ने लगायत जुन लक्ष्य राखिएको छ, सबैको प्रयासबाट अपेक्षित परिणाम हात लाग्ने नै छ ।
अन्त्यमा यस सम्मेलनबाट नेपालको उद्यमशीलताको विकासमा थप सहयोग पुग्नेछ भन्दै पुनः कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ! जय नेपाल !!













