पुलिट्जर पुरस्कार बिजेता प्रख्यात अमेरिकी लेखक र समाज सुधारक अप्टन सिंक्लेयरले ९० वटा पुस्तक लेखे, जसका लाखौँ प्रति बिकिसकेका छन् । आफ्नो विचारप्रधान उपन्यासहरुमा उनले अमेरिकाको आर्थिक र राजनीतिक कमीकमजोरीहरुमा प्रहार गरे । उनको पुस्तकहरु चौवालिस भन्दा धेरै भाषामा अनुवाद भइसकेका छन् ।
सिंक्लेयरले सफलता हासिल गर्नका लागि धेरै कठिन परिस्थितिको सामना गर्नुप¥यो । उनका पिता ह्वीस्कीको सेल्सम्यान थिए र रक्स्याहा थिए । उनी यति गरिब थिए कि घरभाडा पनि तिर्न सक्तैनथिए । आर्थिक अभावका कारण उनको परिवार नै भोको रहनुपर्ने अवस्था पनि आउँथ्यो । दश वर्षको उमेरसम्म उनी स्कुल जान पाएनन् तर उनले घरमै डिकेन्स, थेरकरेका उपन्यास र इन्साइक्लोपीडिया पढे ।
कलेज पढ्ने भएपछि उनले आफू र आफ्नी आमाको पेट भर्नका लागि सस्ता पत्रिकाको लागि उपन्यास लेख्न थाले । उनले हरररात आठ हजार शब्द लेख्थे अर्थात् हरेक महिना दुईवटा उपन्यास बराबरको लेखन । यो कर्मठताको उत्कृष्ट उदाहरण हो किनभने ती दिनहरुमा उनी दैनिक आठ घण्टा अध्ययन पनि गर्थे ।
कलेजको पढाइ पूरा भएपछि सिंक्लेयरले विचारप्रधान उपन्यास लेख्ने निर्णय गरे । उनको मनमा गरिबी र अन्यायको अन्त्य गर्ने भित्री इच्छा थियो । संसारलाई बदल्ने सोचाइका साथ उनले पाँच वर्ष लगाएर पाँच उपन्यास लेखे । तर, उनले केवल एक हजार डलर पाए अर्थात एक वर्षको दुई सय डलर । आखिरमा उनले छैठौँ उपन्या ‘द जंगल’ बाट राष्ट्रिय लोकप्रियता हासिल गरे । यसलाई बेचेर उनले ३० हजार डलर कमाए । त्यो रकम पनि उनले सामाजिक कल्याणका लागि दान दिए ।
साभारः ‘सफलता’ पुस्तकबाट













