काठमाडौं – केहि दिनयता सामाजिक सञ्जालमा बाघका केही सालिकहरु निकै भाइरल बनिरहेका छन् । सुर्खेतको वीरेन्द्रनगरको बेढंगको पाटेबाघको आकृती अहिले सबैभन्दा बढि चर्चामा छ । सार्वजनिक स्थानमा राखिने कलाकृतिले त्यस क्षेत्रको मौलिकता झल्काउनु पर्नेमा कुरुप र बेढंगका हुदाँ त्यसले कलाको नै बदनाम गरिरहेको छ ।

सामाजिक सञ्जालमा सुरुमा सुर्खेतको वीरेन्द्रनगरस्थित शहीद पार्कमा राखिएको पाटेबाघको सालिक भाइरल बन्यो । सालिकको फोटो, ट्रोलदेखि मिम बन्दै सामाजिक सञ्जाल भरीएको छ । सालिक भाइरल हुनुमा बाघको कुरुप आकृतिसंगै यसलाई बनाउन १३ लाख खर्चिएको भन्दै आलोचना भयो । तर भैरव सामुदायिक वन उपभोक्ता समितिले भने यसलाई बनाउन ५० हजार मात्र लागेको बताएको छ । अहिले भने सर्वत्र विरोध भएपछि सालिक हटाइएको छ ।

वीरेन्द्रनगरको बाघको शालिक सामाजिक सञ्जालमा भाइरल बनेपछि अन्य भागका बाघका सालिक पनि भाइरल भइरहेका छन् । बाघका भद्दा सालिकहरु चर्चामा आउन थालेपछि सामाजिक सञ्जालमा देशभरका विभिन्न स्थानमा बनाइएका आकार र ढाँचा नमिलेका दुम्सी, सुँगुर, गाई, देवी देवतादेखि फलफूल, चराचुरुंगी समेत पोष्ट हुन थालेका छन् । मुर्तिकार विक्रम श्री भने बजेट सिध्याउन यस्ता कुरुप र बेढंगका सालिक बनाउँदा कलाको नै बदनाम भएको बताउँछन् ।

संघ, प्रदेश र स्थानीय सरकारले सौन्दर्यविहीन कलाकृति निर्माण होड छ । जसका कारण यस्ता आकृतीमा गरीएको लगानी बालुवामा पानी सरह बनेको छ । विशेषगरी स्थानीय तहले बनाउने यस्ता मूर्ती, सालिक र कलाहरुमा हेपाहा प्रवृती देखिएको छ ।



















