नयाँ दिल्लीः नेपालको भारतसँग शताब्दीयौँ देखि धार्मिक, सांस्कृतिक, सामाजिक–आर्थिक र राजनीतिक सम्बन्ध रहेको छ । दुई देशबीच खुला सिमाना मात्रै नभएर विवाह, नातागोता र पारिवारिक सम्बन्ध पनि कायम रहेको छ । प्रख्यात कुटनीतिज्ञ प्रा एसडी मुनिले नेपाल र भारतलाई ‘विश्वका सबैभन्दा नजिकको छिमेकी’ भनेर चित्रित गरेका छन् । नेपाल र भारतको कूटनीतिक तथा एक अर्कासँग पारिवारिक सम्बन्धका कारणले पनि यसलाई पुष्टि गर्दछ । उदाहरणका लागि, नेपालको सेना प्रमुख भारतीय सेनाका मानार्थ सेना प्रमुख हुने प्रचलन रहि आएको छ भने भारतको सेना प्रमुखलाई नेपालको मानार्थ सेना प्रमुखको रुपमा सम्मान गरिदैँ आएको छ । यस्तै, नेपाली नागरिकले ठूलो संख्यामा भारतीय सेनामा सेवा गर्दै आएका छन् र नेपालीहरु आफ्नो वीरता, प्रतिबद्धता र निष्ठाका लागि प्रसिद्ध रहेका छन् ।
पछिल्लो समय भारतको ध्यान नेपालको पूर्वाधार विकास, मानव सुरक्षा, मानव विकासका सूचकहरूमा सुधार ल्याउनमा भएको छ । सन् २०१५ मा गएको महाभुकम्पको विपद्का बेला भारतले नेपाललाई सहायता र अनुदानमार्फत रहेको थियो । भारतको स्वतन्त्रता पछि, भारतले नेपालसँग घनिष्ठ सांस्कृतिक र ऐतिहासिक सम्बन्धमा आफ्नो सम्बन्ध निर्माण गरेको थियो । सन् १९५० को शान्ति तथा मैत्री सन्धि मार्फत भारत र नेपालले एकअर्कालाई ‘विशेष सम्बन्ध’को दर्जा दिएका थिए । जसअन्तर्गत भारतीय र नेपाली दुवै व्यवसायका लागि राष्ट्रिय व्यवहार र दुई देशका नागरिकलाई बसोबास, सम्पत्ति, रोजगारी, व्यवसायका विषयमा पारस्परिक व्यवहार गर्ने व्यवस्था गरिएको थियो ।
सन् २०१५ मा मधेसी मुद्दा चर्किएपछि, केही नेपाली राजनीतिज्ञहरूले मधेशी आन्दोलन हुनुको पछाडि भारतको हात रहेको आरोप लगाए । नेपाली नेताहरूले भारतलाई घरेलु राजनीतिमा ‘पञ्चिङ ब्याग’ को रूपमा प्रयोग गर्नु पछिल्लो समय सामान्य भएको छ । तैपनि, यसले केही हदसम्म भारत–नेपाल सम्बन्धलाई केही समयका लागि बिगारेको छ । सन् २०१८ मा केपी ओलीले नेपालको प्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै नेपाल–भारत सम्बन्धमा केही समस्या आउन थालेका थिए । ओली सरकारले चीनप्रति स्पष्ट झुकाव देखाउँदै लिम्पियाधुरा, कालापानी र लिपुलेकको क्षेत्रीय विवाददेखि लिएर भगवान रामको जन्मभूमिमाथि प्रश्न उठाएका थिए । उनले नेपालमा कोरोना भाइरस फैलिएकोमा भारतलाई दोष दिँदै यसलाई ‘भारतीय भाइरस’ भनेका थिए ।
विश्लेषकहरूले नेपालमा भारत विरोधी अभियान हुनु नेपालको राजनीतिक अस्थिरताको प्रतिबिम्ब भएको बताएका छन् । नेपालमा जति पनि भारत विरोधी अभियान भएका छन्, त्यसमा चीनको संग्लनता देखिन्छ । जब शेरबहादुर देउवाले नेपालको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै नेपाल–भारत सम्बन्ध फेरि सुमधुर हुन थालेको छ । यस वर्ष बुद्ध पूर्णिमामा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले सम्बन्ध सुधार भएको संकेत गरेकोछ ।
यो भ्रमणसँगै भारतीय टुर अपरेटरहरूले प्रवद्र्धन गरिरहेको बुद्ध सर्किटमा लुम्बिनीलाई समावेश गर्ने नेपाल–भारत संयुक्त योजना पनि आएको छ । यो दुई छिमेकी देशका विभिन्न साइटहरू जोड्ने रामायण सर्किट निर्माण गर्ने परियोजना पनि रहेको छ । पश्चिम सेती जलविद्युत्त आयोजना निर्माणका लागि नेपालले भारतलाई प्रस्ताव गरेको छ । नेपालमा भर्खरै भएको आम निर्वाचनको समापन र २०२२ डिसेम्बर २५ मा पुष्पकुमार दाहाल ‘प्रचण्ड’ ले नेपालको नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण गरेसँगै भारत–नेपाल सम्बन्धको नयाँ अध्याय सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक पुष्पकुमार दाहाललाई सरकार गठनका लागि बधाई दिँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । दुई देशबीचको विशिष्ट रूपमा बलियो द्विपक्षीय सम्बन्ध भएका आपसी सम्मान र प्राकृतिक सम्बन्धलाई उजागर गर्दै दुवै पक्षले मिलेर काम गर्ने उत्साह व्यक्त गरे।
प्रचण्ड र ओली दुवै चीन पक्षधर भए पनि उनीहरुको सम्बन्ध राम्रो छैन भन्ने कुरा ध्यान दिनु जरुरी छ । त्यतिबेला ओलीले प्रचण्डले भारतको समर्थनमा आफूलाई सत्ताबाट हटाएको आरोप लगाएका थिए । यसरी दुई प्रतिद्वन्द्वी वैचारिक अभिसरणका कारण नभई शक्ति बाँडफाँडका लागि एकजुट भएका हुन् । यहाँ भारतले नेपालका लागि आफ्नो रणनीतिलाई पुनः मूल्याङ्कन गर्ने र दुवै पक्षका लागि फाइदाजनक राजनीतिक र कूटनीतिक पहलहरूमार्फत आफ्नो सम्बन्ध सुदृढ गर्ने अवसर छ । नेपालका लागि समानता, क्षेत्रीय अखण्डता र पारस्परिक सम्मान र सहयोगमा आधारित दक्षिणी छिमेकीसँगको सम्बन्ध पुनस्र्थापित गर्ने अवसर पनि हो ।
(एएनआईमा प्रकाशित यो लेखलाई भावानुवाद गरिएको हो । )













