एल्विस प्रेस्ले संगीतको दुनियाँमा सबैभन्दा अधिक धन कमाउने गायक थिए । उनले एक अरब डलरभन्दा पनि धेरै धन कमाए । प्रिस्ले मिसिसिपीको निकै गरिब परिवारमा जन्मिएका थिए । ११ वर्षको उमेरमा उनका आमाबाबुले उनलाई गितार दिए । एल्विस त साइकल चाहन्थे, तर उनका आमाबुवासँग साइकल किन्ने पैसा थिएन । त्यसैले एल्विस गितारबाट नै सन्तुष्ट हुनुप-यो । यस संयोगको कारणले नै उनको संगीत प्रेम जागृत भयो र उनी यति महान गायक बने ।
उनले आफ्नो पहिलो रेकर्ड यसकारण बनाए, कि उनी आफ्नी आमालाई जन्मदिनको उपलक्ष्यमा उपहारस्वरुप दिन चाहन्थे । यस रेकर्डलाई बनाउनका निमित्त मात्र चार डलर खर्च भयो । एल्विसकी आमाले उनीसँग भन्ने गर्नुहुन्थ्यो कि तिम्रो जन्म गरिब परिवारमा भए तापनि तिमी कोहीसँग कुनै कुरामा कम छैनौ । आफ्नी आमाको कुराले उनलाई प्रेरणा र अगाडि बढ्नलाई हौसला मिल्यो । उनी संगीतलाई आफ्नो क्यारियर बनाउनका लाग प्रेरित भए र रेकर्डिङ कम्पनीहरुको चक्कर लगाउन थाले ।
तब उनले सुने कि सन रेकर्डका साम फिलिप्सलाई एउटा यस्तो गायकको खोजी थियो, जसको आवाज कालाजातिको व्यक्तिको जस्तो होस् । तत्काल प्रिस्ले सन रेकर्डको अफिसमा पुगे । त्यहाँ साम फिलिप्सलाई उनको गीत मन प¥यो र प्रिस्ले सन रेडर्कसँग आबद्ध भए । र, एकपछि अर्काे गर्दै लोकप्रिय रेकर्डहरु आए । प्रेस्लेले कैयौँ संगीत कार्यक्रमहरु गरे र उनले युवा पिँढीको दिलमा राज गर्न थाले । गरिब परिवारमा जन्मिएका यी गायक आफ्नो प्रतिभाको कारणले गरिबीको दलदलबाट निस्किएर धनको शिखरमा पुग्न सफल भए ।
साभारः ‘सफलता’ पुस्तकबाट













