जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउतेले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यको शपथपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने तर्क गर्नुभयो ।
उहाँले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताउनु भयो । अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताउनु भयो ।
उहाँले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने प्रयास गरिने उल्लेख गर्नुभयो
अध्यक्ष राउतले आफ्नो दलको सिमित संख्याको भरमा पनि सडक, संसद र सरकारमा गएर जनताका माग र मुद्दाहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।













