१) स्वधर्म भनेको विश्वधर्म हो, वेद–वेदान्तभन्दा पुरानो हो । यो धर्म मात्रै भए पनि संसारलाई पर्याप्त छ, अरु धर्म नभए पनि हुन्छ । स्वधर्म प्राकृतिक जीवन हो, यसलाई अनुशासनपूर्वक जिउनुपर्दछ । अरु धर्महरुले जीवनमा आईपर्ने समस्याहरुको मात्र समाधान गर्ने हुनाले यी केवल तात्कालीक ओखती मात्र हुन् । जरोलाई उखेलेर निको पार्दैनन् । स्वधर्मले जीवनको मूलभूत रहस्य नै उद्घाटन गर्दछ । अर्थात् जीवन नै मूल समस्या हो, जन्मनुु नै समस्या हो भनेर सत्यदर्शन गर्न गराउनतिर लगाउँछ ।
२) एउटा उदाहरण दिएर सम्झाउँछु त्यो हो— सास फेर्ने । के तपाईं भन्न सक्नुहुन्छ म सास फेर्दिनँ । त्यसैगरी के तपाईं भन्न सक्नुहुन्छ— म खाने कुरा खान्न, पानी पिउँदिनँ आदि ? यस्ता कर्महरु जीवनका आधारभूत कर्तव्यहरु हुन् । यिनलाई पूरा नगरेमा जीवन नै सम्भव हुँदैन । त्यसैगरी मन, बुद्धि र आत्मासम्बन्धी कर्तव्यहरु छन्, जसलाई सुनियोजित ढंगले व्यवहारमा ल्याउन जान्नुपर्दछ । नत्र नराम्रो प्रतिक्रिया वा दुःख भोग्नुपर्ने हुन्छ ।
३) कर्तव्य–कर्मबाहेक अरु केही नगर्ने । कम भन्दा कम जीवन जिउने । बाँकी समय ईश्वर श्रवण–मनन–चिन्तन–निदिध्यासनमा बिताउने । यसो गरेमा मात्र सत्य–दर्शन वा भगवद्दर्शन वा परिपूर्णता प्राप्त गर्न सकिन्छ ।
४) तीनवटा वानरको चित्र देख्नुभएमा कुरा बुझ्नुहुनेछ । एउटा वानरले दुवै हातले आफ्ना आँखा छोपीराखेको छ, दोस्रोले कान बन्द गरिराखेको छ र तेस्रोले आफ्नो मुख थुनिराखेको छ । यसको अर्थ संसारमा चाहिने भन्दा बढी हेर्नु, सुन्नु र बोल्नु हुँदैन भनेको हो । स्वधर्मले यही आशयलाई ‘कर्तव्य मात्रै गर्नु, बाँकी समय ईश्वर–चिन्तन गर्नु’ भन्दछ ।
५) भगवान् बुद्धको प्रज्ञा, शील, समाधि र अष्टाङ्ग मार्ग भनेको यही स्वधर्म अर्थात् ‘सम्यक जीवन’ हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













