काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय वनस्थलीमा दुई दिने बन्द कार्यशाला आयोजना गरेको छ । आज (शुक्रबार) बिहान सुरु कार्यशाला शनिबारसम्म चल्ने रास्वपाले जनाइएको छ ।
यही साउन १० गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यलाई रणनीतिक रूपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुई दिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् । कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने रास्वपाले जानकारी दिएको छ ।













