सन्देशले दुई जना साथीहरूलाई रात्री खानाको लागि बोलाएको थियो । बैठक कोठामै अलि–अलि मदिरा, स्न्याक्स, राजनैतिक गफगाफपछि मात्रै भान्सा कोठामा प्रवेश गरेका थिए । उनीहरूले खाना खाँदा वास्तवमै धेरै अबेर भइसकेको थियो । सन्देशकी श्रीमतीले दश बजे पछि— “म गएँ, साथीहरूलाई बिदा गरे पछि आउनु होला” भनेर शयनकक्षतर्फ लागिन् ।
खाना पछि उनीहरू फेरि बैठक कोठामा आएर गफ गर्न थाले ।
एउटा साथीले भन्यो – “मित्र ! फिलिम–सिलिम हेर्ने होइन त अब ?”
“दश अघि नै बजिसक्यो, अब त सुत्नु पर्ने होइन र मित्र ?” — सन्देशले भन्यो ।
“होइन, त्यही राती हेर्ने फिल्म भनेको होला साथीले— तेस्रो साथीले आग्रह ग¥यो ।”
“ए बुझेँ, फिल्म त छन् सरहरू तर लामा छन् । धेरै बेर लाग्छ त । “दिलवाले दुल्हनिया ले जायेगें”, राजकपुरको “संगम” के हेर्ने ?”
“होइन त्यो होइन भनेको । भैगो, खानाका लागि धन्यवाद । धेरै रात भयो, अब हामी लाग्छौ मित्र ।”
“धन्यवाद ! सरहरू आउनु भयो रमाइलो भयो ।”
“यति मिठो खाना खुवाउनु भयो, धन्यवाद !” उनीहरू एउटै मोटरबाईकमा कुरा गर्दै गए ।
“अलिक मुर्ख हो सन्देश सर । हामीले भन्न खोजेको फिलिम बुझेन ।”
“धन्न कुरा बुझेन । मान्छे सोझो पनि हो, बेस पनि हो । राख्दो रहेनछ त्यस्ता फिल्म ।”
यता ढोका लगाएर सन्देश श्रीमतीको आडमा गएर पल्टिए पछि सोच्दै थियो— धन्न पुस्तक दराजको माथिल्लो भागमा रहेको ‘माधवी’ पल्टाएनन् । नत्र आज बर्बाद हुने रैछ ।
साभारः लघुकथा कुनोबाट













