औरङ्गजेबका शाही सेनाले आनन्दपुरमा हमला गरे । सेनामा लगभग ५ लाख सैनिक थिए । गुरु गोविन्दसिंहसँग १० हजार खालसा वीर सैन्य थिए । फेरि पनि उनीहरुले शाही सेनाको सामना डटेर गरे ।
खालसा वीरहरुमध्ये एक थिए, भाइ कन्हैया । उनी घुमीघुमी घाइते सैनिकलाई पानी पिलाइरहेका थिए । सिख सैनिकले देखे भाइ कन्हैया दुश्मनका घाइते सैनिकलाई पनि पानी पिलाइरहेका छन् । लडाइँ रोकिपछि केही सैनिकले यसको गुनासो गुरुजीसँग गरे ।
गुरुजीले सोधे, के यो साँचो हो ?
कन्हैयाले जवाफ दिए, मलाई केही थाहा छैन हजुर । मलाई पानी पिलाउने काम सुम्पिएको थियो, म हरेक आहत भएकालाई पानी पिलाइरहेको थिएँ ।
गुरु गोविन्दसिंहले भावपूर्ण शब्दमा भने, असहाय असहाय नै हुन्छ । चाहे त्यो आफ्नो होस् वा पराइ वा दुश्मन । असहायको सेवा गर्नु नै मानिसको धर्म हो, कर्तव्य हो । भाइ कन्हैया, तिमीले धर्मको पालना गरेका छौ । अबदेखि तिमीले आफूसँगै केही औषधी पनि लिएर जाऊ र घाइतेको घाउमा मल्हम पनि लगाउने गर ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













