काठमाडौँ– नेपालका लागि अष्टेलियाली राजदुत फेलिसीटी भोल्क विशेष नेवारी पहिरन लगाएर बिस्का जात्रा हेर्न भक्तपुरमा पुगेकी छिन् ।
आठ रात र नौ दिन सम्म मनाईने विस्का जात्रा विश्व सम्पदा सुचिकृत भएको जात्रा हो ।
उनलाई हाकु पटासी काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले दिएकी हुन् ।
यसपालीको बिस्का जात्रा मंगलबारबाट सुरु भएको हो । जात्राको दिन बिहानदेखि नै तान्त्रिक विधिपूर्वक पूजा गर्ने र साँझ रथमा भैरवनाथलाई विराजमान गराइ तानेर जात्रा सुरु गर्ने प्रचलन छ।
पहिलो दिन तःमारी (टौमढी) स्थित पाँंचतल्ले मन्दिर अगाडि प्यागोडा शैलीमा काठैकाठले बनाइएको तीनतले भैरवनाथको रथको अगाडि पछाडि बाँधिएको डोरी तानेर क्वने (तल्लो) टोलको बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म पुर्याएर पुनः गःहिटीमा पुर्याइ सम्पन्न गरिन्छ।
तान्त्रिक विधिद्वारा पूजा सम्पन्न गरी गराएसँगै रथ तानेर जात्रा सुरु हुन्छ। चैत ३० गते ल्यासिङखेलमा इन्द्रध्वजासहितको ५५ हातको ल्योसिं उभ्याइने र २०८१ वैशाख १ गते साँझ ढालिन्छ।
बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ। सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ। वैशाख ५ गते रथलाई तानेर तःमारी स्थित भैरवनाथको प्रांगणमा पुर्याएपछि जात्रा सम्पन्न हुनेछ।
बिस्का जात्रा काठमाडौँ उपत्यकाको भक्तपुर साथै थिमि, धापासि र टोखामा पनि मनाइन्छ।