सोम कुमार सुब्बा
प्रधानाध्यापकले आपतकालीन सभा ढाके । पाठशाला प्रबन्धक समिति र गाउँलेहरु आए । प्रधानाध्यापकले खेद प्रकट गर्दै भने –
“गएराति हाम्रो स्कूलमा तोडफोड भयो !”
सबैले नजर घुमाए । देखे— भूइँमा छरपस्टिएका ऐनाहरु, भत्किएका खिड्कीहरु, कुच्चिएको बोर्ड, भाँचिएको नली र यत्रतत्र छरिएका ढुङ्गाहरु ।
मैले अस्ति नै पर्खाल मर्मत गर्नुपर्छ भनेको नि ! कसैले सुनेनन्— मुख्य प्रबन्धकले आक्रोसित हुँदै भने ।
हो, त्यो बदमास त्यही पर्खालबाट छिरेको हुनुपर्छ— अर्कोले समर्थन गरे ।
सबैको अड्कल समान थियो । अन्त्यमा पर्खाल पुनः मर्मत गर्ने निधो गरे र त्यतातिर बडे ।
पर्खनोस्, त्यो रहल पर्खाल पनि भत्काइदिनोस्— प्रधानाध्यापकले उच्च आवाजमा भने ।
किन सर ? मुख्य प्रबन्धकले अचम्मित हुँदै सोधे ।
“पर्खाल त मान्छेको सोँचमा लगाउनुपर्छ, इलाकामा होइन !” भन्दै प्रधानाध्यापक भित्र पसे ।











