भिटामिन ‘ए’ मानिसका लागि नभइनहुने तत्व हो । भिटामिन ‘ए’ आँखाको दृष्टि, सन्तान उत्पादन र इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) का लागि अति आवश्यक हुन्छ । भिटामिन ए अन्तर्गत ‘रेटिनोइड’ र ‘केरटेनोइड’ क्रमशः जनावर र वनस्पतिबाट प्राप्त हुन्छन् । माछा, कलेजो, गाजर, ब्रोकाउली, तोरीको साग, गोलभेंडा, आँप, सखरखण्ड आदिमा प्रशस्त भिटामिन ‘ए’ पाइन्छ ।
भिटामिन ‘ए’ गर्भवती महिला र नवजात शिशुलाई सबैभन्दा बढी आवश्यक हुन्छ । त्यसैगरी स्तनपान गराउने आमालाई पनि भिटामिन ‘ए’ बढी नै चाहिन्छ । आमाले भिटामिन ‘ए’ खाए शिशुले पनि प्राप्त गर्छ ।
कतिपय पश्चिमी मुलुकहरुमा प्रतिदिन भिटामिन ‘ए’ युक्त खानेकुरा कति खाने भनेर कोटा नै निर्धारण गर्छन् । जुन आवश्यक पनि हो तर हामीकहाँ भने यस्ता खानेकुरा कति मात्रामा खाइन्छ, यसको कुनै लेखाजोखा नै हुने गरेको छैन । भिटामिन ‘ए’ को महत्वलाई बुझ्नु अत्ति आवश्यक छ ।













