रामप्रसाद पन्त
केही समय अघिको कुरा हो । एउटा घरमा मान्छे नभएको थाहा पाएर दुई जना चोर त्यस घरको गेटमा पुगे । दायाँ बायाँ हेरे । मध्यदिन, गर्मीको समय, बाहिर टन्टाल घाम लागेकोले पनि होला, वरिपरि पनि कोही मानिस देखिएनन् ।
सल्लाह अनुसार एउटा चोर घरको गेट बाहिरै बस्यो, अर्काे पर्खाल नाघेर भित्र पसी ताल्चा फोड्न थाल्यो ।
उसले बडो सावधानीपूर्वक सकेसम्म आवाज टाढा नपुग्नेगरी ताल्चा फो¥यो र घरभित्र पस्यो ।
त्यसै वेला पल्लो घरको बार्दलीबाट छिमेकी घरकी महिला गेटबाहिर उभिइरहेको मानिसलाई देखेर सोधिन्— ‘त्यस घरकालाई खोजेको हो बाबु ?’
चोर बोलेन ।
महिलाले फेरि भनिन्— ‘घरका मान्छेलाई खोजेको भए उनीहरू सबै कोरोना भएर अस्पताल भर्ना भएका छन् । कहिले सन्चो हुने हो र आउने हुन् थाहा छैन !’
त्यो मान्छे अझ पनि बोलेन ।
त्यसै वेला घरभित्रबाट चोर फुत्त बाहिर निस्क्यो र दुवै एकै साथ भागे ।
‘चोर ! चोर !! चोर !!!’ चिच्याइन् महिला ।
छिमेकी दुईतीन जना मानिस चोरको पछिपछि दौडे ।
एक जनाले झन्डै चोरलाई भेटाउनै लागेको थियो, चोरले ‘हाछ्यूँ’ ग¥यो र भन्यो— ‘कोरोना ! कोरोना !! मलाई कोरोना लागेको छ ।’
त्यसपछि त कसैले समाउने आँटै गर्न सकेनन् । खाली कराइरहे— ‘चोर….! चोर !!…’













