काठमाडौं – अमेरिकाको ब्रुकलिन म्युजियमबाट फिर्ता गरिएको उमा महेश्वरको देवीको मुर्ती पाटनको च्यासल टोलको हिटी फल्चामा पुनर्स्थापना गरिएको छ ।
शताब्दीयौंदेखि नेपाली समुदायमा महत्त्वपूर्ण भूमिका रहेको धार्मिक देवता र कलाकृतिहरूको पुनर्स्थापनाकै क्रममा उमा महेश्वर देवीको मुर्ती पुनर्स्थापना गरिएको हो ।
शनिबार काठमाडौंस्थित अमेरिकी दूतावासले एक विज्ञप्ती जारी गरी नेपालको लागि यो पुनर्स्थापना अर्को कोसेढुङ्गा भएको र यसबाट आफूहरु हर्षित भएको जनाएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल सरकार, नेपाल सम्पदा पुनःप्राप्ति अभियान, र नेपालभरका समुदायहरूसँग सांस्कृतिक सम्पदा फिर्ता गर्ने साझेदारीमा सदा तत्पर रहने दूताबासले जनाएको छ।
उमामहेश्वरको मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि सन् १९९० को दशकको बीचमा चोरी भएर ब्रुकलिन म्युजियममा पुगेको थियो । यो कलात्मक वस्तुहरुको उत्पत्ति स्थल नेपाल भएको प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार अमेरिकाले नेपाल फिर्ता गरेको थियो ।














