पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिभर गरिने स्वस्थानी व्रतकथाको शुरुवात भएको छ । सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना परम्परा सुरु भएको हो ।
वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक रुपमा माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन गरेर देवीदेवताको पूजा आराधना गर्छन् । पुस शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्य संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी नेपालमा बसोवास गर्नेले नै यो पर्व मनाउने हुँदा यसलाई नेपालकै मौलिक परम्पराको रुपमा लिइन्छ ।
माघ शुक्ल पूर्णिमा अर्थात व्रत समाप्तिका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ । सय रोटी वर्तालु आफैले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने, सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकामाना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।













