मंगलबार भगवान् श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान् श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार भगवान् गणेशको पूजा, अर्चना र व्रत बस्दा मनोकामना पूरा हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान् गणेशको पूजा गर्ने प्रचलन छ ।
यो व्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ । यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनुपर्दछ । एक छाक अलिनो भोजन गर्नुपर्दछ । यस व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ ।
बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ‘ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवान्को आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ । ब्राह्मणलाई यथाशक्य तामा, मुसुरोको दाल आदि दान गर्नुपर्दछ वा आफूभन्दा कान्छो भाइलाई खुशी पार्ने वस्तु प्रदान गर्नुपर्दछ ।













