सोम कुमार सुब्बा
सबैभन्दा उच्च स्थानमा रहेको मस्तिष्क तात्तेर बोल्यो—
“मैले बुद्धि नलगाएको भा, आज त्यो त्यँहा पुग्दैनथ्यो !”
“उनलाई आँखा देखाउने हामी हौं !” आँखाहरुले तुरुन्तै कुरा काटे ।
“हामीले सही नसुनाएको भए, ऊ भौंतारिएर जताततै कुदथ्यो !” कानहरु राता हुँदै बोले ।
“तिमीहरु मात्रै श्रेय नलेउ, मैले चापलुसी नलगाएको भा, उ पत्यारो हुने थिएन !” मुखले दाह्रा किट्दै भन्यो ।
अनायासै शरीरमा हलचल भयो । हातहरु काम्दै जुरुक्क उठे र भने –
“तिमीहरु के फुटानी गर्छौ, क्रान्तिको झण्डा पक्रिने हामी हौं !”
हातहरु आफ्नो ठेगानमा आई नपुग्दै खुट्टाहरु बजारिन्दै बोले –
“तिमीहरु जे भन, तर उनलाई सही दिशातर्फ लैजाने हामी हौं !”
अघिदेखि यो वार्तालाप सुनिरहेको मनले जिज्ञासा राखे –
“आखिर तिमीहरू किन गुनासो गर्दैछौ ?”
बुद्धिले रुञ्चे स्वरमा भन्यो –
“हामीले दुःख ग-यौं, तर अहिले त्यो न्यानो चौकीमा बस्ने चाहिँ बेकामे चाक ।”













