मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी १७ वर्षदेखि फरार रहेका दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन्।
कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरुलाई गैरीगाउँबाट पक्राउ गरेको हो। पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानोलाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको बताइएको छ।
पक्राउ परेका गोले र स्याङ्तानलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकिएको थियो।
जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले खोजलतासका क्रममा घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत मकवानपुरमा प्रहरीले आइतवार नै उपस्थित गराएको छ।













