शक्तिशाली शीतकालीन आँधीका कारण पूर्वी अमेरिका प्रभावित भएको छ । आँधीका कारण पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यस अघिनै न्यूयोर्क र न्यू जर्सीका केही भागहरूमा बिहीबारसम्म बाढीको चेतावनी दिइएको थियो ।
न्यूयोर्क राज्य र पेन्सिलभेनिया सबैभन्दा बढी प्रभावित भएको छ । अझै पनि उत्तर–पूर्वी भागहरूमा आगामी दुई दिनसम्म नदीहरूका बहाव बढ्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् । भारी वर्षाले यस क्षेत्रमा सडक बन्दहुनुका साथै विजुली आपुर्तिमा प्रभावित भएको छ । नेशनल वेदर सर्भिसले राज्यमा बाढीको चेतावनी जारी गरेकोले अधिकारीहरूले मानिसहरूलाई न्यु जर्सीमा बढ्दो नदीबाट आफ्ना कारहरू सार्न पनि आग्रह गरेका छन्।
आँधीबेहरी र भारी वर्षाका कारण न्यूयोर्क र न्यूजर्सीका प्रमुख विमानस्थलमा ठूलो सङ्ख्यामा उडान अवरुद्ध हुनुका साथै ग्राउन्ड स्टप गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले जनाएको छ । न्यूयोर्क शहरका एयरपोर्टहरू सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ ।
आधिका कारण बुधवार लगभग ७ सय उडान रद्द हुन पुग्यो भने लगभग ४ हजार विमानले ढिलो उडान गरेका थिए । शुक्रबार र शनिबार ग्रेट लेक्स क्षेत्रमा मौसम थप प्रतिकुल हुन सक्ने नेशनल वेदर सर्भिसले चेतावनी दिएको छ । प्रतिकुल मौसमका कारण दक्षिण–पूर्वी नेब्रास्कादेखि मिशिगनसम्म ४ इन्च (१० सेन्टिमिटर) सम्म हिउँ पर्ने गरेको एजेन्सीले जनाएको छ । आर्कटिक फ्रन्टसँग चिसो जोडिएको पूर्वानुमानकर्ताहरूले थप हिमपातको अवस्था ल्याउन सक्ने जनाएका छन् ।
वासिङ्टन राज्य र क्यालिफोर्नियाका केही भागमा पनि भारी हिमपात र तीव्र हावाका कारण विद्युत् कटौती गरिएको छ । फ्लोरिडा, अलाबामा र जर्जिया लगायतका दक्षिण–पूर्वी अमेरिकी राज्यहरूमा पनि आँधीबेहरीको प्रभाव परेको बताइएको छ । ह्युस्टन काउन्टीमा आँधीबेहरीले मोबाइल घरहरू र मोटरहोमहरू ध्वस्त पारेपछि मृत्यु हुनेहरूमा अलाबामाकी एक ८१ वर्षीया महिला पनि रहेको बताइएको छ । क्लेरमोन्ट, उत्तरी क्यारोलिनामा पनि आधिको प्रभाव परेको अधिकारीहरूले जनाएका छन् ।













