केही अचिन्तित प्रतिकूलता आयो भने धैर्यका बलले त्यो समय, त्यो वातावरण, त्यो वेदनालाई समाप्त हुन दिनु ।
शरीरको पीडा, रोगको, खानपान औषधि उपचारद्वारा समयमा नै चिकित्सा गर्नु ।
मनको पीडालाई लोभ मोह–ईष्या–निन्दाबाट मन इन्द्रियलाई मुक्त राखी स्वतन्त्र हुनु । एकान्तमा रहने अभ्यास अवश्य गर्नु, जो सन्तोषी वैरागी तथा ज्ञानका जिज्ञासु छैनन्, गुरुभक्त छैनन् । उदार, दयालु तथा शरीरका भोगबाट मुक्त छैनन् भने त्यस्ता कुनै नरनारीको सकेसम्म सम्पर्क नगर्नु ।
व्यवहारका कारणले गर्नैपरे पनि जति छिटो सम्भव हुन्छ त्यस्ता संसारीलाई पर सार्नु र आपूm पनि ऊसँग सर्वदा जोगिनु, यही हो— ध्यान, त्याग र साँचो जीवनको उपाय ।
सुषुप्तिमा, निद्रामा कहाँ छ संसार ? बाहिरको व्यवहारमा लोभ र मोह छैन भने कहाँ छ बाध्यता ? जहाँ बाध्यता छैन त्यहाँ कुनै कालमा बन्धन छैन ।
सुख सुविधाको भोग गरे दुःख र झन्झट स्वाभाविक आइलाग्छन् । सुखको वासना र सुविधा प्रदर्शनको इच्छाले प्रपञ्चलाई शक्ति प्रदान गर्दछ ।
जन्मका साथमा जति आवश्यक क्रियाहरू थिए त्यति मात्रै जीवन मुक्तका साथ रहनुपर्छ तब मात्रै वास्तविक विश्राम र आत्मस्थिति हुन्छ । प्राणको बोध भोक, प्यास, अपानको कर्म, पिसाव, दिसा, निद्रा, शरीरको चालन, श्वास प्रश्वास, यही पाँच क्रिया हुन्— जो अत्यन्त आवश्यक छन् ।
जन्मका साथ भाग्यका रूपमा वातावरण, परिवारको आर्थिक अवस्था तथा योग क्षेमका रूपमा आमाको ममता र पिताको अहङ्कार उपस्थित थियो । यी दुवै दैव र योगाक्षेम समग्र जीवन रहन सक्छन् र रहन्छन् तर ज्ञानीले अहङ्कारलाई प्राथमिकता दिन हुन्न । नामरूप जो अत्यधिक परिवर्तनशील छ वृत्ति राख्नुभएन, यस्तो निर्दोष, सरल जीवनयापन गर्न सके ईश्वरत्व, ब्रह्मत्व तथा यथार्थ जीवन मुक्तत्व मानवत्वमा उपलब्ध हुन्छ ।
साभार : ‘विचारप्रवाह’ पुस्तकबाट













