काठमाडौँ । दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिइएको स्पष्ट गरेको छ ।
बिहीबार बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आज तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपछि काठमाडौं प्रशासनले एक सूचना जारी गर्दै सो समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको स्पष्ट गरेको हो ।
तीनकुनेमा कार्यक्रम गर्न प्रसाईं पक्षले प्रशासनसँग समन्वय नगरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुर्गा प्रसाईंलेविहिबार साँझ पत्रकार सम्मेलन गर्दै आज ११ बजेदेखि काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने बताएका थिए ।
जिल्ला प्रशासन कार्यालयले भनेको छ( ‘स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी काठमाडौंको तीनकुने क्षेत्रमा भेला भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ ।’
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ ।














