पाठेघर झर्नु (खस्नु) भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छाडेर तल खस्नु हो । यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका पहिला जोसुकैलाई हुन सक्छ । यसलाई गाँउठाँउ अनुसार पाठेघर झर्ने (खस्ने) वा आङ खस्नु पनि भनिन्छ । यसले कतिपय महिलाहरु मानसिक, शारीरिक रुपमा सहित श्रीमानबाट समेत पिडीत हुन बाध्य छन् ।
महिलाको पाठेघर झर्नु (खस्नु) को मुख्य कारण उनको गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर भएर त्यससँग जोडिएका अङ्गहरु विस्तारै तल खस्नाले हुन्छ । पाठेघर खस्ने समस्या आउँदा टुक्रुक्क बस्दा केही अप्ठ्यारो हुन्छ र ढाड पनि दुख्छ । खोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा पाठेघरको मुख योनीको प्वालमा देख्न सकिन्छ । यस्तो अवस्थामा पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, कम्मर दुख्ने, खोक्दा, भारी बोक्दा योनीको मुखमा केही डल्लो आएर बसेको जस्तो हुन्छ । पुरै ठाउँ छोडी केही भाग योनी बाहिर पनि निस्कन सक्दछ । खोक्दा, हास्दा अलिअलि पिसाब चुहिने पनि हुन सक्छ । बाहिर निस्केको पाठेघरमा घाउ हुने, संक्रमण हुने, हिँड्न गाह्रो हुने, ढाड दुख्ने हुनसक्छ ।
हाम्रो समाजमा धेरै महिला तथा परिवारले महिलाको पाठेघर खस्ने समस्यालाई समस्याको रुपमा नलिई यसलाई बच्चा भएपछि हुने साधारण शारीरिक समस्या हो भनी लिने गरेको पाइन्छ । तर त्यसो होईन यो महिलाहरु भित्र लुकेको एउटा ठूलो शारीरिक तथा मानसिक समस्या हो । यसले महिलामा शारीरिक, स्वास्थ्यमा समस्या, पारिवारिक तथा सामाजिक समस्याहरु देखिने गर्छन् ।
पाठेघर खस्नबाट जोगिन के गर्ने ?
– किशोरीहरुलाई पोषिलो खाना खुवाउनु पर्छ ।
– महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने र गर्भवती हुने ।
– गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउने ।
– स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउने ।
– गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने ।
– गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने ।
– सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ।
– गर्भावस्था र सुत्केरी अवस्थामा गह्रौ भारी नबोक्ने ।
– दोस्रो गर्भको चाहना भए परिवार नियोजनको साधन अपनाई कम्तिमा २ वर्ष पर्खन ।













