तिमीले आपूmलाई भेट्ने यात्रा प्रारम्भ गर्न सके इच्छा के हो ? भ्रम के हो ? स्वार्थ के हो ? बन्धन कसरी हुन्छ ? यी प्रश्नहरूको मनन गर्न सके– जीवनले सार्थकताको प्रकाश पाउने थियो !
हाम्रा–बहिर्मुखी इच्छाहरू अन्धकार हुन्, त्यो अन्धकारमा लागेपछि, चिन्ता, हताशा तथा दुःखको महानरक आफै आउँछ किनकि– जीवनभरि हामी त्यही नरकको बाटो हिँडिरहेका थियौँ । हामीले आफ्नो आत्मालाई एक पल पनि शान्ति दिएनौँ– अहङ्कार, मन र इन्द्रियहरूको कुरा सुनेर हामीले आत्माको धेरै उपेक्षा ग¥यौँ । अब त्यसको फल हामीले अवश्य भोग्नुपर्छ ।
शरीर यहीँ रहन्छ, वासना अगाडि जान्छ जस्तो वासना छ त्यस्तै स्वागत सत्कार–सुख सुविधा, दुःख दण्ड पाउनैपर्छ– धन, जवानी, पद, मूर्खताको दुरुपयोग गर्ने हे मनुष्य ! शरीर छोडेपछि सबैको बदला दिनुपर्छ ।
सम्पत्ति, अधिकार र प्रसिद्धिले जीवनमा नै नरक ल्याएको हुन्छ । चिन्ता, विरोध र ईष्याको नरक, महापुजारी राजगुरु राजा महाराजा रानी महारानीहरूका जीवनमा हामी प्रत्यक्ष देख्न सक्छौँ उनीहरूलाई सोधे पनि हुन्छ । सोद्धा हृदयमा हात राखेर आफ्नो कुल–देवीदेवता ईश्वरलाई साक्षी गरेर भन्नुहोस् हजुरहरूको मन कस्तो छ ? शान्ति आनन्द र ज्ञानले प्रकाशित छ कि ? मेरो, तेरो, थोरै, धेरै, यस्तो भएन, यसो गर्न पाइनँ, त्यो भएन भन्ने चिन्ता व्याकुलताको अशान्ति छ ? तिनीहरूले आफै बताउनेछन्, सत्यले बोल्नै पर्दैन ।
त्याग, प्रेम, शान्तिको समझ जीवनमा ल्याउनैपर्छ तबमात्रै हाम्रो मनुष्यता सफल हुन्छ । स्थिर भएर हेर स्पष्टता स्वतः आउँछ । स्पष्टता छ भने जीवन समग्र सत्यको प्रकाश बन्दछ ।
स्वतन्त्रताविना शान्ति छैन, शान्तिविना प्रेम छैन– स्वतन्त्रता फल होइन स्थिति हो त्यो प्रारम्भमा छ छैन भन्ने अन्तमा पनि छैन ! विष मिलेको भोजन खाँदा स्वाद त होला जीवन छैन । विषय सेवनमा स्वाद छ परन्तु परिणाम चिन्ता, भय र विनाश हो ।
हातका औंलाहरू सबै बराबर छैनन्, फेरि पनि एक छन् समात्नु र समातिनुमा ठूलो अन्तराल (फरक) छ । तिमीले प्रेम गरेको तत्व–पदार्थलाई समात्छौ तर घृणा गरेको व्यक्ति वा पदार्थले तिमीलाई समातेको हुन्छ ।
साभार : ‘विचारप्रवाह’ पुस्तकबाट













